युगान्डाविरुद्ध नेपालको पहिलो जित

Photo : CAN
Photo : CAN

युगान्डाविरुद्धको चौथो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा नेपाल १५ रनले विजयी भएको छ।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८२ रनमात्र बनाउन सक्यो।

युगान्डाकी जनेत एम्बाबाजीले सर्वाधिक २१ रन बनाइन्। यसबाहेक, रिता न्यान्गेन्डो र फियोना कुलुमेले समान १६ रन जोड्दा ओपनर केभिन अविनो ११ रनमा पभेलियन फर्किएकी थिइन्।

बलिङमा नेपालकी हिरनमायी रोयले दुई विकेट लिइन्। तीन ओभर बलिङ गरेकी रोयले ११ रन खर्चिइन् । यस्तै, कप्तान रुविना क्षेत्री, अस्मिना कर्माचार्य र कविता कुँवरले एक एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपाल  १७।५ ओभरमा सबै विकेट गुमाएर ९७ रनको योगफल तयार गरेको थियो।

नेपालकी ओपनर ज्योति पाण्डेले सर्वाधिक १७ रनको बनाएकी थिइन्। उनले १३ बल खेल्दै ४ चौका प्रहार गरिन्। यस्तै, अर्की ओपनर विन्दु रावलले १६ रन जोडिन्। यस्तै, सिता राना मगर ११ रन जोडेर पभेलियन फर्किदा अन्य ब्याटरले दोहोरो रन बनाएका थिएनन्।

युगान्डाकी कप्तान कोन्की अवेकोले सर्वाधिक र तीन विकेट लिएकी थिइन्। यस्तै, सहारा अकिटेङले दुई तथा जानेत बाबाजीले एक विकेट लिएका थिए।

पाँच खेलको शृंखलामा लगातार तीन खेमा हार बेहोरेको नेपालले शृंखला गुमाइसकेको छ। नेपाल पहिलो खेलमा १२ रनले, दोस्रो खेलमा एक विकेटले र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो।

शृंखलाको अन्तिम खेल शनिबार हुनेछ। नेपाली महिला टिमले पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो।

प्रकाशित मिति: : 2022-05-20 17:19:00

प्रतिकृया दिनुहोस्