नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडाबीच हुन लागेकाे दुई एकदिवसीय क्रिकेट श्रृंखलाको मिति एक दिन पर धकेलिएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार श्रृंखला ५ र ६ जुलाईमा हुने तय भएको छ। यसअघि पहिलो खेल ४ र दोस्रो खेल ५ जुलाईमा हुने तय भएको थियो।
नेपालले आज ओन्टारियो क्रिकेट क्लबसँग टी–२० खेल खेल्ने तय भएसँगै श्रृंखला एक दिन पर धकेलिएको हो। नेपाल र ओन्टारियोबीच यसअघि एकदिवसीय खेल भएको थियो। जहाँ नेपाल ६९ रनले विजयी भयो।
पूर्वतालिकाअनुसार ओन्टारियोसँग एक खेल खेल्ने कार्यक्रम रहेको थियो। तर, क्यानले आपसी समझदारीमा दुई खेल हुने तय भएको बताएको हो। क्यानडासँगको श्रृंखलापछि नेपाल स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्यान्ड प्रस्थान गर्नेछ। जहाँ घरेलु टोली स्कटल्यान्ड, नेपाल र नामिविया भिड्नेछन्।