बुढीगंगामा फेरि विवाद, प्रहरीले चलायो गोली

बाजुराको बुढीगंगा नगरपालिका- ९ को त्रिशक्ति मा.वि मतदान केन्द्रमा तनाव भएको छ। तनाव भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायर गरेको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। ‘केहीबेर विवाद भयो,’ अधिकारीले भने, ‘करिब १५ मिनेट मतदान गरेर अहिले पुनः मतदानको स्थिति बनेको छ।’

अन्य मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए। फर्जी मत खसाएको विषयलाई लिएर दलका कार्यकर्ताहरूबीच विवाद भएपछि दोहोरो झडप भएको छ।

एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाले बताए।

३० वैशाखमा भएको निर्वाचनमा बुथ कब्जा गरेको भन्दै मतगणना स्थगित गरेर पुनः बिहीबार निर्वाचन गरिएको हो।

प्रकाशित मिति: : 2022-07-07 12:46:00

प्रतिकृया दिनुहोस्