गाडीमा लेखिएका सायरी मेटाउँदै प्रहरी, सायरी लेखेर महिलालाई जिस्काउन नपाइने

काठमाडाैँ ट्राफिक प्रहरीले बुधबारदेखि सार्वजानिक तथा निजी सवारी साधनको गाडीमा लेखिको सायरी तथा वाक्य मेटाउन सुरू गरेकाे छ। गाडीकाे पछाडि अश्लिल तथा सामाजिक सद्भावमा असर पर्ने गरी लेखिएका सायरी तथा लाइनहरू हटाउने अभियानमा प्रहरी लागेकाे हाे।

सवारी साधनमा लेखिने अनावश्यक गजल तथा सायरीहरुले समाजमा नराम्रो असर पर्ने भएकाले उक्त अभियान सुरू गरिएकाे ट्राफिक महाशखाको भनाइ छ।नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व सदस्यसमेत रहेकी ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी)  मीरा चाैधरीले याे अभियानकाे सुरूवात गरेकी हुन्।

उनले आफू डिआईजी भएकाे भोलिपल्ट (बुधबार)देखि सायरी तथा गजल हटाउन प्रक्रिया सुरु गरेकी हुन्। बुधबारदेखि सुरु भएको उक्त अभियानको कारबाहीमा हालसम्म १ सय २० वटा सवारी साधना परेकाे ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिवकुमार दासले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘हामीले समाजमा नकारात्मक असर नपरोस् भनेर गाडीमा भएको सायरी तथा गजलहरु मेटाउन लागेको हाे। हामीले राम्रो सायरी तथा गजलहरुलाई मेटाउँदैनाैँ,’ प्रवक्ता दासले भने,‘यस्तो खालको सायरीहरुले गर्दा बालबालिकाहरुमा एकदमै नराम्रो असर परेकाे छ भने महिलालाई पनि अपमान गरेकाे छ।’ कति आवश्यक राजधानीमा जाम हुने ठाउँ सायद कहीँ पनि नहाेलान्।

त्यही जाममा हामी गाडीपछाडि लेखेका सायरीहरु पढ्छाैँ। अझ पढने मात्र हाेइन एकदमै रमाइलो लागे फोटो खिचेर साथी–भाइको माझ सेयर गर्न गर्छाैँ। सबैले मन पराउने र शेयर गर्ने यस्ता सायरीहरू के हटाउन आवश्यक छ त? पक्कै पनि छ तर सबै हाेइन त्यसका पनि किसिम छन्। धेरैजसो गाडीको पछाडि जातीय भेदभाव, लैंंगिक भेदभाव तथा अश्लिलता पैदा गर्ने खालका कुराहरू लेखिएकाे पाइन्छ।

जसले समाजमा नकारात्मक असर पुर्‍याउने गर्छ। यस्ता खालका सायरी गजलको फोटो सामाजिक सञ्जालभर भाइरल हुने गर्छन्। यस्तो खालको सायरी तथा गजलहरु देखेपछि दिमागमा नकारात्मक विचारहरू उत्पनन् हुने गर्छन्। यस्ता खालका कुराले विशेषगरी बालबालिाको मनोवैज्ञानिकमा असर पार्न गर्छ।

एक त, बालबालिका आफैँमा अवोध हुन्छ, त्यसमाथि यस्ता खालको कुरा पढ्दा या सुन्दा उनीहरुमाथि नराम्रो असर पर्न जान्छ। त्यस्तै सवारी साधन हाँकिरहेका बेला यस्ता कुराहरू पढिरहँदा ध्यान विकेन्द्रित भएर दुर्घटनासमेत हुन सक्छ।

ट्राफिक महाशखाले राम्रो सायरी तथा सन्देशमूलक सायरीहरुलाई नमेटाउने बताएकाे छ। जसमा ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनिकरण  सम्बन्धीका सामाग्रीहरू पर्दछन्। त्यसैले  यी बाहेक सामाजिक सद्भावमा असर गर्ने यस्ता सामाग्रीहरू हटाउन जरूरी छ।

प्रकाशित मिति: : 2022-07-08 20:00:00

प्रतिकृया दिनुहोस्