भिटोफ-नेपालकाे २६औँ वार्षिकोत्सव : देवीचाैरकाे सेराेफेराेमा ललितपुरवासीकाे साथ (फाेटाे फिचर)

Breaknlinks
Breaknlinks

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले २६औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको उपलक्ष्यमा ललितपुरस्थित देवीचौर क्षेत्रको गन्तव्य पहिचान समेत गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि गोदावारी नगरपालिका- ७ का अध्यक्ष मुकुन्द शर्माले देवीचौर सेरोफेरो पर्यटकीय हिसाबले निकै सम्भावना रहेकाे बताएका छन्। प्रचारप्रसारको अभावले काठमाडाैँदेखि नजिक भएपनि ओझेलमा परेको बताउँदै भिटोफ-नेपालको गन्तव्य पहिचानको भ्रमण गरिएकोमा निकै उत्साहित भएका थिए। यो क्षेत्रलाई गन्तव्य बनाउन नगरपालिकाले योजना बनाएर सक्दो आर्थिक सहयोगमा पहल गर्ने प्रतिवद्धता जनाएका छन।

कार्यक्रममा बाेल्दै भिटोफ-नेपालको प्रमुम सल्लाहकार प्रा.डा. प्रेम शर्माले गाउँ पर्यटनद्वारा स्थानीय गाउँलेको जीवनस्तर उकास्ने गतिलो माध्यम भएको बताए। आन्तरिक पर्यटकहरु स्थानीयको घरमा बास बस्ने र खानपिन, संस्कृति , रहनसहनसँगै  प्राकृतिमा रमाउँछन।

भिटोफका अध्यक्ष गोपाल थापाले पर्यटक प्राकृतिक सौर्न्दर्य, स्वच्छ र शान्त वातावरणमा त्यहाँका डाँडाकाडा, भिरपाखा, हरियाली वन जङ्गल, खोलानाला, तालतलैया, झरना र अन्य भौगोलिक, जैविक एवं सांस्कृतिक विविधता, ग्रामीण बस्तीमा रमाउने हँसिलो मुहारले पाहुनाहरुको स्वागत सत्कार एवं सेवा पुर्‍याउने ग्रामिण पर्यटन अन्तर्गत पर्दछ। ग्रामिण पर्यटन प्रवर्द्धनका साथै ग्रामीण क्षेत्रको मौलिक उत्पादन, त्यहाँको संस्कृति, खानपिन र अतिथि सत्कारका विषयहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने र प्रवर्द्धन गर्ने (भिटोफ) नेपालको प्रमुख उदेश्य रहेको बताए। देवीचौर क्षेत्रमा छिट्टै होमस्टे सञ्चालन गर्न सुझाव दिँदै संस्थाले त्यसको आवश्यक तालिमसहित प्रचारप्रसार गर्नमा सहयोग गर्ने अध्यक्षले थापाले बताए।

संस्थाको पूर्व कार्यसमितिका अध्यक्षहरु शिव लामिछाने, चित्र गुरुङलगायत विभिन्न वक्ताहरुले होमस्टेका विगतका इतिहास र कार्यहरुको परिचर्चा गरेका थिए।

वार्षिकोत्सव मनाउनेसहित नयाँ गन्तव्य पहिचानको कार्यक्रममा भिटोफका वर्तमान कार्यसमितिका पदाधिकारी, पूर्व पदाधिकारी, पत्रकार, पर्यटन व्यवासायीलगात स्थानीयहरुको सहभागी रहेको थियो।

२६ वर्षअगाडि २०५४ सालमा सूर्यप्रकाश श्रेष्ठको अध्यक्षतामा गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालको स्थापना गरिएको हो।

करिब २१०० मिटरमा अवस्थित भ्युटावरबाट काठमाडाैँ उपत्यकासहित हिमालको लामो लर्कन देख्न सकिन्छ। यस क्षेत्रमा तामाङ, क्षेत्री व्राह्मन लगायत नेवारसमुदायको बसाेवास रहेको छ।

१६ जनाको टोलिद्वारा वार्षिकोत्सवको अवसरमा गोदावारी नगरपालिकको देवीचौरदेखि देउराली हुँदै भ्युटावरसम्म र फर्किँदा जौवारी हुँदै डेढ घण्टाको हाईकिङ समेत गरेका थिए।

काठमाडाैँदेखि सातदोबाटोबाट, सुनाकोठी, थेचो, टिकाभैरव, देवीचौर, जौवारी, देउराली हुँदै भ्युटावरसम्म करिव ३० किमिको दुरी रहेको पर्यटकीय गन्तव्यमा गाडी वा माेटरसाइकलमा पुग्न सकिन्छ।

प्रकाशित मिति: : 2022-08-01 19:55:00

प्रतिकृया दिनुहोस्