कांग्रेसमा हारमा ‘ह्याट्रिक’ गरेकादेखि जुवाडेसम्म उम्मेदवार सिफारिस !

BreaknLinks
BreaknLinks

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ प्रदेश ‘क’ समितिले गत स्थानीय निर्वाचनमा पराजित भएकाहरुलाई छानिछानी प्रत्यक्ष र समानुपातिकमा नाम सिफारिस गरेपछि स्थानीय कांग्रेसजनमा असन्तुष्टि चुलिएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कांग्रेसले गत स्थानीय चुनावमा उर्लाबारी नगरपालिकाको मेयर, उपमेयर र वडाध्यक्ष पदमा हारेकाहरुको नाम सिफारिस गरेको छ।

प्रदेशसभाको समानुपातिकतर्फ खड्ग फागो, प्रदेशकै प्रत्यक्षमा वीरबल थापा र प्रतिनिधिसभाको समानुपातिकतर्फ सीता कार्कीलाई उम्मेदवारमा सिफारिस गरेको हो।

फागो मेयर पदमा, कार्की उपमेयर पदमा र थापाले वडाध्यक्ष पदमा हार ब्यहोरेका थिए। सीता कार्की त पहिलो स्थानीय चुनावमा पनि उपमेयर पदमै पराजित बनेकी थिइन्। उनी कांग्रेसको प्रदेश सह-महामन्त्री पदमा समेत पराजित भएकी हुन्।

जनमतबाट अस्वीकृत भएको खाटा नमेटिँदै तिनै व्यक्तिहरुलाई पुनः उम्मेदवार बनाउँदा चुनाव हारिने भन्दै कांग्रेस कार्यकर्ताहरु असन्तुष्ट बनेका छन्।

‘पार्टीमा अरुपनि एकसे एक योग्य छौँ’, नेविसंघका स्थानीय नेता पोषणजंगले भने, ‘बोल्दा तीतो हुने अवस्था छ। नत्र अहिलेको अवस्थामा जसको नाम चर्चा गरिएको छ, उनीहरुलाई उम्मेदवार सिफरिस गर्नुपर्ने कुनै कारण छैन।’ जनता र कार्यकर्तामाझ अलोकप्रिय भइसकेका व्यक्तिहरुलाई अघि लगाएर कुन मुखले भोट माग्ने भन्दै उनले प्रतिप्रश्न गरे।

फागो, वीरबल र सीता कार्की मात्रै होइन, उम्मेदवार सिफारिस भएका ललित अधिकारी, अर्जुन तुम्रोक र चिरञ्जिवी थापाको नामप्रति पनि कांग्रेसजन सकारात्मक छैनन्।

गत स्थानीय चुनावमा कांग्रेस उम्मेदवार हराएको भन्दै अन्तर्घातीको ट्याग भिरेका ललित अधिकारी ‘शक्तिकेन्द्र’मा आत्मसर्पण गर्दै प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको सिफारिस सूचीमा आफ्नो नाम पार्न सफल भएका छन्।

अर्कातफ गत कांग्रेसको अधिवेशनमा क्रमशः प्रदेश ‘क’ को सभापति, महाधिवेशन प्रतिनिधि र स्थानीय चुनावमा वडाध्यक्ष पदमा समेत हारेर ‘हारमा ह्याट्रिक’ गरेका वीरबल थापालाई फेरि पनि उम्मेदवार सिफारिस गरिएको छ।

कांग्रेसको क्षेत्र नं. १ (क) क्षेत्रीय समितिको बुधबार उर्लाबारीमा बसेको बैठकले मोरङ १ बा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ आरती बराल र जयधर्म आचार्यको नाम सिफारिस गरेको छ भने प्रतिनिधिसभाको समानुपातिकमा ललित अधिकारी, सीता कार्की र नारायण धिमालको नाम सिफारिस गरेको छ।

यस्तै, मोरङ १ (क) बाट प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ गोमा नेपाल, चिरञ्जिवी थापा, अर्जुन तुम्रोक र वीरबल थापा तथा प्रदेश समानुपातिकतर्फ खड्ग फागो, शोभा चेम्जोङ पालुङ्वा, विजय कार्की र नेत्रकुमारी भट्टराईको नाम सिफारिस गरेको छ।

सिफारिसमा परेका मध्ये अर्जुन तुम्रोक पुर्वकै नामुद जुवाडेका रुपमा परिचित छनु। जुवाजन्य खेल खेलाएबापत पटक-पटक प्रहरी कारबाहीमा परेका तुम्रोकले आफुले टिकट पाए साम, दाम, दण्ड, भेद गरेर चुनाव जित्ने बताउँदै आएका छन्।

अर्का प्रदेशसभामा नाम सिफारिस भएका चिरञ्जिवी थापा लामो समय जापान बसेर फर्केका व्यक्ति हुन्। उनलाई ‘टुरिस्ट’ भन्दै कार्यकर्ताले आलोचना गर्ने गरेका छन्।

पार्टीभित्र अलोकतान्त्रिक अभ्यास भएको आरोप लगाउँदै कांग्रेसका एकजना क्षेत्रीय प्रतिनिधिले भने, ‘म स्वयंपनि आफ्नो उम्मेदवारीको आवेदन पार्टीद्वारा जारी मापदण्डअनुसार क्षेत्रीय सभापतिलाई बुझाएको थिएँ, तर त्यसलाई फालियो र एकलौटी नामहरु सिफारीस गरियो। उनले थपे, ‘भ्रष्ट, कमजोर, लोभी र अति नै निम्न स्तरीय प्रकृतिको सिफारिसको घोर निन्दा गर्दछु।’

प्रकाशित मिति: : 2022-09-02 20:20:00

प्रतिकृया दिनुहोस्