बालेनको आक्रामक कदमको चौतर्फी प्रभाव

‘बालेन! बालेन!! बालेन!!!’ यत्रतत्र सर्वत्र यो नाम चर्चामा छ। अहिले यो नाम अधिकांश नेपालीका लागि कर्णप्रिय बनेको छ। नाममा के छ र? उत्कृष्ट काम गर्दा व्यक्ति लोकप्रिय हुने र उसको ‘नाम’ कर्णप्रिय हुने हो। काठमाडौंका मेयर बालेन्द्र शाह(बालेन)ले छोटो समयमै महानगरपालिकालाई व्यवस्थित बनाउनका लागि थालेका कार्य सर्वसाधारण जनताले मन पराएपछि उहाँको नाम कर्णप्रिय भएको हो।

सामाजिक सञ्जालका साथै विभिन्न सञ्चारमाध्यममा बालेनको चर्चाले भरिभराउ छ। कतिपयले हिन्दी चलचित्र ‘नायक’ मा एकदिने मुख्यमन्त्री बनेका अनिल कपुरको ‘ठाउँको ठाउँ’ कारवाहीको दृश्यका तस्विरका साथ काठमाडौं अतिक्रमण हटाउनका लागि प्रयोगमा ल्याइएका डोजरसहित बालेनको तस्विर राखेका छन्। कोहीले मुलुकको हरेक कुना-कुनामा बालेनजस्तै मेयर हुनुपर्ने भनेर सामाजिक सञ्जालमार्फत माग गर्न थालेका छन्।

हिन्दी चलचित्र ‘नायक’को कथा काल्पनिक हो। तुलना नै गर्नुपर्ने हो भने कडाइका साथ कानुन पालना गराउने पदाधिकारीसँग गर्दा सुहाउँछ। भारतमा सन् १९९० डिसेम्बर महिनामा निर्वाचन आयोगको प्रमुख आयुक्त बनेका तिरुनेलै नारायण अइर शेषण (टीएन शेषण)सँग तुलना गर्दा उचित हुन्छ।

हुन त दुवै पदमा धेरै भिन्नता छन्। अर्को, पदीय जिम्मेवारी र अधिकार क्षेत्र पनि फरक छन्। मेयर निर्वाचित व्यक्ति हुन्छ भने प्रमुख आयुक्तको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुन्छ। संविधानले दिएका अधिकारलाई कडाइका साथ पालना गराउने विषयमा दुवैबीच समानता देखिएकाले तुलना गर्न खोजिएको हो।

टी एन शेषणले भारतमा निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि संविधानले दिएका अधिकारलाई कडाइका साथ पालना गर्न लगाए। आयोगको शक्तिको पहिचान गराए। अटेर गर्नेमाथि उहाँले अविलम्ब कारवाही थाल्नुभएकाे थियो। यस विषयमा कुनै दिन विस्तारमा लेखौंला। तर, टी एन शेषणको कडा कारवाही फलस्वरुप भारतमा निर्वाचन प्रणालीमा धेरै सुधार भयो। अहिले मेयर बालेनले पनि स्थानीय ऐनलाई कडाइका साथ प्रयोगमा ल्याउन खोजेका हुन्।

बालेन सफल भए भने ऐन कानुनको परिधिभित्र बसेर संरचना निर्माणलगायत कार्य नगरे भविष्यमा क्षतिका साथै दण्डित पनि हुने सन्देश सर्वसाधारणमा पुग्नेछ। भरसक गल्ती नगर्ने सोचको विकास हुनेछ। अर्कोतर्फ, यस कार्यमा बालेन असफल भए भने ऐन कानुन मिच्ने प्रवृति मौलाउने छन्। राजनीतिक रुपमा बालेनलाई असफल बनाउनका लागि मुख्य दलहरु भित्रभित्रै षड्यन्त्र गरेको भनेर सन्देश पनि प्रवाह हुनेछ। जसकारण, आउँदो निर्वाचनमा मुख्य दलविरुद्ध जनमत तयार हुनुले सम्भावित खतरा पनि देखिन्छ।

मेयर बालेनले आफ्नै मनले केही गरेको होइन। कानुनको परिधिमा बसेर दृढ इच्छाका साथ स्थानीय ऐनलाई कार्यान्वयनका लागि अग्रसर भएका हुन्। यस कार्यमा महानगरपालिकाका निर्वाचित प्रतिनिधिका साथै कर्मचारीहरुको पनि पूर्ण सहयोग देखिन्छ। केही गर्ने दृढ इच्छा हुनु पर्यो। न्यायिक भावना हुनु पर्यो। साना-ठूलाको भेदभाव नगरी बेथितिको विरुद्ध कार्य गर्यो भने सफलता प्राप्त हुन्छ भनेर बालेनले गरेर देखाइरहेका छन्।

यसअघिका मेयरहरुले स्थानीय ऐनलाई व्यक्तिपिच्छे फरक-फरक ढङ्गले आफ्ना अनुकूल प्रयोग गरेकाले नै काठमाडौं गञ्जागोलको अवस्थामा पुगेको हो। मेयर बालेनले पदीय कर्तव्य इमान्दारिता साथ निर्वाह गर्न जुटेको देखिन्छ। स्थानीय ऐन सबैका लागि एकसमान भएकाले नियमविपरीत निर्माण भएका संरचनामाथि डोजर चलाउने नीतिमा अडिग छन्।

नेपालको राजधानीसमेत भएकाे काठमाडौं सफासुग्घर र व्यवस्थित नभएमा अन्तर्राष्ट्रिय जगत नकारात्मक सन्देश प्रवाह हुन्छ। विभिन्न मुलुकका राजदूतावास छन्। विदेशी पाहुनाहरुको आवतजावत भइरहन्छन्। राष्ट्रको पहिचान विश्वसामु एक स्वच्छ एवम् सुन्दर र अनुशासित देश देखाउनु छ भने सर्वप्रथम, काठमाडौंलाई कुरुप सहरको कथित संज्ञाबाट हराभरा, स्वच्छ र व्यवस्थित सहर बनाउनुपर्छ।

यस कार्यका लागि पहिलो चरणमा काठमाडौंमा फोहोरको व्यवस्थापन र ट्राफिक समस्यामा सुधारको आवश्यकता छ। सडक अतिक्रमण हटाउने र बेसमेन्ट पूर्णरुपले पार्किङको रुपमा सदुपयोग भएमा ट्राफिक समस्या पच्चीस प्रतिशतले घट्ने अनुमान गरिएको छ। अर्कोतर्फ, बेसमेन्टहरुबाट पसल हटेपछि सो क्षेत्रका सडकको चाप घट्नुका साथै ती पसलहरुबाट निस्कने फोहोरजन्य पदार्थ फाल्ने गतिविधि धेरै हदसम्म घटने छन्।

दैनिकी मजदुरी गर्नेदेखि उद्योगपति, व्यापारी, विद्यार्थीलगायत देशभरका जनता मेयर बालेनको ‘बेसमेन्ट’ खाली गराउने र अवैध संरचना हटाउने अभियानलाई बडो चासोका साथ नियालिरहेका छन्। बालेनले अतिक्रमण हटाउनुका साथै महानगरको बक्यौता कर वसुलका लागि कडा कदम पनि उठाएकाले यतिखेर चौतर्फी स्वागत भइरहेको छ। यस प्रभाव अन्य स्थानीय निकायमा पनि परेको छ। पोखरा महानगरपालिका, मध्यपुर नगरपालिका, कर्णाली प्रदेशको वीरेन्द्रनगरपालिकालगायतका कतिपय नगरपालिकाले ३५ दिने सूचना जारी गरी अतिक्रमण हटाउन निर्देश जारी गरेका छन्।

अभियानको रुपमा अतिक्रमण हटाउने कार्य भएकाले अब व्यापारिक प्रयोजनका साथै घर बनाउँदा स्थानीय निकायका शर्तलाई पालना गरेर मात्रै निर्माण गर्ने र नक्सा पास नभएसम्म निर्माण कार्य नथाल्ने भन्ने सन्देश राष्ट्रव्यापी रुपमा जनमानसमा प्रवाह भएको छ। अब स्थानीय ऐनलाई पैसा र पावरको बलमा खल्तिको ऐन सम्झनेहरुले पटक-पटक सोच्ने छन्।

ट्राफिक समस्या केही हदसम्म घटेपनि अर्कोतर्फ कतिपयको व्यापार पनि चौपट भएको हो। ती व्यापारीहरुलाई विजोग त पक्कै भएको छ। दसैंसम्म पसल थाप्न दिँदा हुन्थ्यो। तर, त्यति समय दिनासाथ बालेनले आर्थिक चलखेल गर्यो भनेर आरोप लाग्ने डर पनि छ। त्यसकारणले पनि डोजर अभियानलाई बालेनले निरन्तरता दिएको हो जस्तो बुझिन्छ। मर्कामा परेका व्यापारीहरुलाई वैकल्पिक ठाउँ उपलब्ध गराउनेतर्फ महानगरका साथै सङ्घीय सरकारलाई ध्यान दिँदा उत्तम हुने थियो।

राजनेताको टाउको दुखाइ

एमालेबाट निर्वाचित तत्कालीन मेयर विद्यासुन्दर शाक्य बडो आकर्षक व्यक्तित्वको स्वामी हुनुहुन्छ। आफ्नो चम्किलो अनुहारजस्तै महागरपालिकालाई किन चम्काउन असमर्थ हुनुभयो। उहाँले आफ्ना पदीय जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गरेको भए आज यो परिस्थिति उत्पन्न हुने थिएन। शाक्यको असफलताले गर्दा नै बालेन शाहको उदय भएको अर्थ्याउन सकिन्छ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारको रुपमा बालेनको जितको खबर काँग्रेस र एमालेमाथि बज्रपात सरह नै थियो। राजधानीको मेयर पद गुमाउने पीडा दुवै दलका लागि असह्य थियो नै अहिले महानगरलाई सफासुग्घर ग अभियानलाई बालेनको तीव्रताले कतिपय नेतालाई जनमत खुस्किने डरले पनि सताउन लागेको देखिन्छ।

ती दलका नेताहरुमा के भ्रम थियो भने एक्लै बालेनले के गर्न सक्छ र? यो चाँडै असफल हुन्छ। उनको जोशिलो भाषण सुनेर लहैलहैमा युवा वर्गले साथ दिएको हो। काठमाडौंको फोहोर व्यवस्थापन भनेको फलामको चिउरा चपाउने सरह हो। यस कार्यमा असफल हुनासाथ बालेनको लोकप्रियता स्वत खतम हुने सोचे थियो। तर, बालेनले बडो सुझबुझका साथ तत्कालका लागि फोहोर व्यवस्थापना गर्यो। अब अतिक्रमण हटाउने र बेसमेन्ट खाली गराउने अभियानलाई निरन्तरता दिँदा मुख्य दलका नेताहरु झस्किएका छन्। भित्रभित्रै उहाँहरुलाई पश्चाताप पनि हुँदै होला कि आफूहरुले महानगरलाई व्यवस्थित पार्नका लागि किन केही गरेनौं।?

बालेनको अभियानप्रति खासगरी एमालेका नेता महेश बस्नेतले संयमता गुमाउँदै प्रतिक्रिया दिएका छन्। उक्त धम्कीसहितको प्रतिक्रियाको नागरिक समाज, प्रबुद्धवर्ग, राजनीतिज्ञका साथै सामाजिक सञ्जालमा समेत बस्नेतको आलोचना भएको छ। तर, यस विषयमा स्थानीय निर्वाचनको समयदेखि अहिलेसम्म काँग्रेसका नेताहरु बढी संयमित भएर प्रतिक्रिया दिने गरेको पाइएको छ।

युवा परिवर्तनका संवाहक

काठमाडौंका जनताले मेयरमा स्वतन्त्र उम्मेदवारको रुपमा बालेनलाई जिताएर आफूहरु कुनै दलको ‘दास’ होइनौं भन्ने सन्देश पनि दिएको छ। दलहरुलाई सुध्रिनका लागि सचेत गराएको रुपमा पनि सम्झनुपर्छ। अब दलहरुलाई सुध्रिनुपर्छ। स्वच्छ छविका इमान्दार व्यक्तिलाई आउँदो निर्वाचनमा उम्मेदवार बनाउनुपर्छ। यसो नगरे भने अब देशभरका युवाहरु दलहरुभित्रका फोहोरलाई व्यवस्थाप नगर्न मतदानमार्फत अग्रसर हुने प्रवल सम्भावना छ। नेपालको राजनीतिले कोल्टो फेर्न खोजेको सङ्केतको रुपमा सम्झनुपर्छ।

युवा वर्ग परिवर्तनका संवाहक हुन्। युवाकै बलमा मुलुकमा प्रजातन्त्रको पुनःस्थापना र ०६२को जनआन्दोलन सफल भएको हो। काठमाडौंका जनता सडकमा उत्रिएपछि आन्दोलनले मूर्तरुप लिएको थियो। काठमाडौं तातिएपछि निश्चित रुपमा परिवर्तन हुने गरेको इतिहास छ। युवाहरु हतास मनस्थितिमा छन्। उनीहरुको धैर्य टुट्न लागेको छ। किनभने, विगत तीस वर्षको अवधिमा ज्ञानेन्द्रको शाही शासनबाहेक २७ पटक प्रधानमन्त्री फेरिएका छन्। मुलुकले स्थायी सरकार पाएन।

संविधान निर्माणपछि २०७४ सालमा केपी ओली झण्डै दुई तिहाइको बहुमतका साथ प्रधानमन्त्री बनेपछि जनतामा धेरै ठुलो उत्साह र विश्वास जागृत भएको थियो। तर, विश्वासमाथि कुठाराघात नै भयो। चालीस लाखको हाराहारीमा युवाहरु वैदेशिक रोजगारमा छन्। उद्योग चौपट छन्। जुन सरकार आउँछ, करारमा आफ्ना नातागोता र कार्यकर्ताको भर्ना गर्छन्।

जहाँतहाँ बेथिति छ, भ्रष्टाचार व्याप्त छ। कतिपय स्थानीय निकायका प्रमुखहरुले भ्यूटावर निर्माणलाई नै विकास सम्झेका छन्। प्रत्येक वर्ष अर्बाैंका खाद्यान आयात हुन्छ। नेताहरुको गफ त मङ्गल ग्रहमै पुर्याउने स्तरको छ। त्रिभुवन विश्वविद्यालयमा सधैं ताल्चा नै झुण्डिएको हुन्छ। महङ्गी चरमोत्कर्षमा पुगेको छ। शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको अवस्था दिनप्रतिदिन खस्किँदै गइरहेको छ। पाइला-पाइलामा कर तिर्नुपर्छ। ती करको  समूचित ढङ्गले देश र जनताको विकासमा खर्च हुनुपर्छ।

जनताको करबाट नेताहरु रजाइँ गरिरहेका भनेर जनताहरु मनमस्तिष्कमा घर गर्न थालेका छन्। समग्रमा भन्नुपर्दा कुनैपनि क्षेत्रले जनताको मन जित्न नसकेको अवस्था छ। जनतामा नैराश्यता छाएको छ। यस्तो बेलामा बालेनतर्फ जनताले टकटकी लगाएर हेर्न थालेका छन्।

आउँदो निर्वाचनमा बालेनहरु जन्माउनतर्फ जनता उद्यत छन्। दलहरुलाई जनताको विश्वास जित्नु छ भने दलभित्र इमान्दार, स्वच्छ छविका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ। नत्र भने भारतको राष्ट्रिय काँग्रेस र बामपन्थी पार्टीको जस्तै हविगत हुन बेर लाग्दैन।

लोकतन्त्रको मेरुदण्ड भनेको कानुनी राज्य हो। कानुनको पालना नभएमा लोकतन्त्र वा गणतन्त्रको मूल्य मान्यताको ह्रास हुन्छ। राजनेताहरुले जनताबीच दिने यस्ता उपदेशहरु आफ्ना जीवनशैलीमा उतार्न नखोज्दा राजनीतिक क्षेत्र विकृत हुन थालेको हो।

प्रकाशित मिति: : 2022-09-03 22:12:00

प्रतिकृया दिनुहोस्