मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलले अधिकांश क्षेत्रमा सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
कार्यदलले बिहीबार छलफल गर्दा सो प्रतिवेदन शीर्ष नेतृत्वबाट थप अध्ययन गरेर सिट बागबण्डाबारे टुंगो लगाउने र लामो छलफल भएकोले यो क्रम शुक्रबार पनि जारी रहने सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी गराएका छन्।