कम्बल त के ध्यू दिए पनि जनताले पत्याउनेवाला छैनन् पुष्पा दिदी

कमल प्रभात

अर्घाखाँची

मैले संसद र राजधानीका प्रतिष्ठित कार्यक्रममा देखिरहने उपसभामुख समेत रहेकी नेपाली कांग्रेस नेत्री पुष्पा भुसाल यतिबेला गृह जिल्ला अर्घाखाँचीका गाउँ-गाउँ पुगिरहेकी छन्। उनी गाउँमा पुगिन् भन्ने खबर नै मेरा लागि अनौठो कुरा हो। किनभने, सदरमुकाम सन्धिखर्क समेत कष्टले पाइला टेक्ने उनी गाउँ-गाउँमा पुगेको देख्दा अनौठो लाग्नु स्वभाविक नै हो।

उनी त्यसरी गाउँ-गाउँमा त्यतिकै पुगेकी भने हाेइनन्। उनमा ठूलै स्वार्थ हुनुपर्छ, किनभने उनका गतिविधि चुनाव केन्द्रित छन। ‘टुरिष्ट’ (पर्यटक) जसरी गाउँमा झुल्किने उनकाे याे पटक अर्घाखाँचीकाे बसाइ लामै रह्याे। अरूबेला उनी जिल्लामा आउँदा जनताले अनुहार समेत देख्न पाउँदैन्थे। तर, यसपटक उनी जनताकाे घरमै पुगेर चाराे छरिरहेकी छन् तर मलाई उनकाे याे कार्य फिटिक्कै मन परेन। उनकाे याे चुनाव केन्द्रित गतिविधि ठिक लागेन। उनी आफैंमा टुरिष्ट नेता (कहिलेकाहीँ मात्रै गाउँ फर्किने) हुन्, उनलाई अर्घाखाँचीका कमै जनताले भाेगेका छन्। त्यसमा उनले अहिले जसरी सोझा जनतालाई सामान्य सामान र प्रलोभन दिएर भोटको लागि फकाइरहेकी छन्, त्यो नै चित्त बुझेकाे छैन, मलाई।

अरुबेला गाउँमा नआउने, जिल्लावासीको पिर मर्का नबुझ्ने तर चुनाव आउँदा मात्रै जनता खाेज्ने तपाईंलाई जनताले कसरी विश्वास गर्ने ? अहिले तपाईंले जनतालाई फकाउन जुन तरिका अपनाउनुभएको छ नि यही तरिकाले जनतालाई अरु नेताले उल्लू बनाउँदै र ठग्दै आएको धेरै वर्ष भइसक्याे, त्यसैले तपाईंको यो पुरानै शैलीले यहाँका सचेत जनता आकर्षित हुन्छन जस्तो लाग्दैन।

अर्घाखाँचीका जनताले धेरै नेतालाई चुनाव जिताएर सरकारमा पठाए, उनीहरूले जनताको चित्त बुझ्ने गरी काम गरेनन्। उदाहरणका लागि पूर्व उपप्रधानमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई दिउँ।

अर्घाखाँचीका जनताले रायमाझीलाई करिब १५ वर्षदेखि अपराजित हिराेका रूपमा उभ्याएका छन्। तर, उनले जनताकाे चित्त बुझाउने गरी काम गरेनन्। अहिले जति गरेका छन्, त्याे नियमित हाे यसमा कुनै प्रशंसा गर्न जरूरी छैन। बरू उल्टै ‘कसैले नल्याएकाे पैसा जिल्लामा ल्याएँ’ भनेर भ्रम छर्ने काम गरेका छन्, ठुला-ठुला आयोजना समेत उनकै कारण अलपत्र परे। अहिले रायमाझीदेखि अर्घाखाँचीवासी आजित छन्। पछिल्लो चुनावमा अर्घाखाँचीवासीले दिएकाे भाेटकाे समेत उनले अपमान गरे, उनी संसद विघटनकाे पक्षमा उभिएर। पद र कुर्सीकाे लागि मरिहत्ते गर्ने ‘अवसरवादी नेता’काे उपमा पाएका रायमाझीकाे राजनीतिक भविष्य नै अहिले खतरामा छ। त्यसैले करिब १५ वर्षदेखि चुनाव जित्दै आएका रायमाझीलाई जसरी पनि पराजित गराउने पक्षमा छन्, अर्घाखाँचीका सचेत जनता।

तर, अर्घाखाँचीका जनताले रायमाझीको विकल्पमा चुन्न चाहने भरपर्दो र स्पष्ट अनुहार अहिलेसम्म भेटाएका छैन। यस्तो अवस्थामा तपाईंलाई यहाँका जनताले नयाँ अनुहारका रुपमा रोज्न पनि सक्छन्।

तपाईंलाई रोज्नुको पनि कारण छ। तपाईंले जिल्लावासीको दु:ख सुखमा साथ दिएको भएर होइन। अहिलेको अवस्थामा तपाईंले केन्द्र सरकारमा पहुँच राख्न सक्ने भएर, राज्यको महत्त्वपूर्ण पदमा रहेर कुशलतापूर्वक काम गरिरहेको भएर, अध्ययन/अध्यापनमा तपाईंले प्राप्त गरेको सफलता देखेर, कानुनी क्षेत्रको जानकार भएर, क्षमतावान महिला नेत्री भएर, चुनाव जिते सिधै मन्त्री बन्ने संकेत देखेर।

तपाईं योग्य र क्षमतावान नेत्री भएर यसरी पुरानै शैलीमा जनतालाई प्रलोभनमा पार्न नक्कली जस्तो देखिने सस्तो लोकप्रियता कमाउन खोज्ने हो भने तपाईंकाे पराजय निश्चित छ। अबका जनताले यस्ता देखावटी कार्यकाे विश्वास गर्ने छैनन् भन्ने कुरा बुझ्न कुनै समय लाग्दैन। जसकाे उदाहरण बनेर काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्का सम्पाङ हाम्राे अगाडि उभिएका छन्।

अन्ततः नजिकिँदाे चुनावकाे लागि तपाईंले जनताकाे घरमा पुगेर आश्वासन बाँड्ने, कम्बल बाँड्ने, पाइप बाँड्ने र याे वा त्याे गरिदिन्छु भन्नु कुनै पनि हालतमा सार्थक हुने देखिँदैन। बरू याे त तपाईंलाई नै हाेच्याउने माध्यम बनेकाे छ। तपाईंले दिएको कम्बल ओड्नेले त के तपाईंले घ्यू नै खुवाए पनि जनताले भोट दिनेवाला छैन किनभने समय फेरिएको छ।

अहिलेका सचेत मतदाताले उम्मेदवारबाट पैसा वा कम्बल/घ्यू आदिको अपेक्षा गरेका छैन्न। अहिलेका मतदाता त नयाँ सोच, विचार र भिजनरी (दूरदर्शी) नेताकाे खोजिरहेमा छन्। उम्मेदवारमा कुशलता खोजेका छन्, काम गर्ने नयाँ शली खोजेका छन्, युवासँग हातमा हात मिलाउने नेतृत्व खोजेका छन, विकासको नयाँ मोडेल खोजेका छन् अनि प्रभावशाली अभिभावक खोजेका छन। अर्घाखाँचीका जनता चेलीलाई भाेटकाे दाइजाे दिएर पराइ घर अन्माउन चाहदैनन्, आफ्नै आँगनबाट देशकाे नेतृत्व गर्ने छाेरी बनाउन चाहन्छन्।

त्यसैले उपसभामुख भुसालज्यू युवाको साथमा नयाँ किसिमले छलफल गर्नुहोस्, युवाको मर्म बुझ्ने कोसिस गर्नुहोस्, समस्याको दीर्घकालीन समाधान गर्ने उपायबारे बहस चलाउनुहोस, तपाईंका नयाँ सोच र विचारबारे जनतालाई बुझाउनुहोस, यहाँका जनताले के चाहन्छ राय बुझ्नुहोस। तर, यसरी पुरानै शैलीमा जनतालाई उल्लू बनाउने अधिकार तपाईंलाई छैन। अर्घाखाँचीका जनता कम्बल दिने नेता होइन, सिस्टम बसाल्ने नेतृत्व चाहन्छन्।

प्रकाशित मिति: : 2022-09-10 19:28:00

प्रतिकृया दिनुहोस्