नवौँ राष्ट्रिय खेल : सुदूरपश्चिम विजयी

File photo
File photo

राजधानीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले प्रदेश नं १ लाई १३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।

सुदूरपश्चिमले प्रदेश १ लाई जीतका लागि एक सय ४५ रनको लक्ष्य दिएको थियो। जवाफमा प्रदेश १ निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३१ रनमा समेटियो।

प्रदेश १ का लागि दिपेश कँडेलले अविजित ३४ रन बनाए भने कप्तान फिर्दोस अन्सारीले ३३ रनको योगदान दिए। सोनु मण्डलले अविजित २६ रन बनाउदा सन्दीप ढुङ्गानाले १३ रन बनाए।

बलिङतर्फ सुदूरपश्चिमका मिलन बोहोराले दुई तथा हेमन्त धामी, नारायण जोशी, नरेन साउद, शेर मल्ल र लोकेन्द्र चन्दले समान १-१ विकेट लिए

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो। सुदूरपश्चिमका लागि वसन्त खत्रीले ५३ रनको योगदान दिए भने मिलन बोहोराले ४४ तथा लोकेन्द्र चन्दले २४ रन बनाए।

प्रदेश १ का कप्तान फिर्दोस अन्सारीले तीन विकेट लिँदा दिपेश कँडेलले दुई विकेट लिए। यस जीतसँगै सुदूरपश्चिमले तीन खेलमा चार अङ्क जोडेको छ। पराजित प्रदेश १ को भने तीन खेलबाट दुई अङ्क रहेको छ।

प्रतियोगितामा तीन विभागीय टोली, सात प्रदेश र एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ। 

प्रकाशित मिति: : 2022-09-11 14:58:00

प्रतिकृया दिनुहोस्