बेल्जियममा ६० नेपाली संघसंस्था : एउटै व्यक्ति थुप्रै संस्थाको जिम्मेवार पदमा आसिन

BreaknLinks
BreaknLinks

युरोपेली संघको सांख्यिकीय कार्यालय युरोस्टाटको पछिल्लो तथ्याङ्कअनुसार बेल्जियममा बस्ने नेपालीहरुको कुल संख्या ४ हजार ३ सय ९८ रहेको छ। युरोस्टाट र युरोपेली सामाजिक सर्वेक्षणमा यसका साझेदारहरूले सान्दर्भिक, निष्पक्ष, भरपर्दो र तुलनात्मक तथ्याङ्कीय डेटा उपलब्ध गराउने गर्दछन्।

नेपाली दूतावास ब्रसेल्सले आफ्नो वेबसाइटमा यहाँ बस्ने नेपालीहरुको संख्या लगभग ८ हजार बताएको छ। तर गैरआवासीय नेपाली संघ (एनआरएन) बेल्जियमका अनुसार भने ५५ सयको हाराहारीमा रहेको छ।

माथिको तथ्याङ्कअनुसार नेपालीहरूको राम्रै बसोबास रहेको बेल्जियममा अहिले ६० वटा नेपाली संघसंस्थाहरू रहेका छन्। एनआरएन बेल्जियमले आफ्नो फेसबुक पेजमा राखेको सूचनाअनुसार जातीय, क्षेत्रीय, राजनैतिक, जिल्लागत, कलाकार, खेलकुद, पत्रकारहरुलगायतका संघसंस्था रहेका छन्। सक्रिय तथा निष्क्रिय रूपमा रहेका सबै संस्थाहरुले  नेपालीपनलाई एकीकृत गर्न सहयोग गरेका छन्।

राजनैतिक संस्थाले नेपालको राजनीतिलाई गजबको बढावा दिइरहेका छन् भने जातीय संस्थाहरुले आफ्नो जाति विशेषको महत्वलाई विभिन्न कार्यक्रममार्फत नेपाली तथा बेल्जियम समुदायमा फैलाउन बढावा दिइरहेका छन्।

जिल्लागत खोलिएका संस्थाहरुले आफ्ना जिल्लामा विभिन्न सहयोग गर्दै आएका छन्। कलाकारहरुको संस्थाले विभिन्न स्थानमा नेपाली बालबालिकाहरुलाई नृत्य प्रशिक्षण तथा विभिन्न बेल्जीक नागरिक सम्मिलित कार्यक्रममा नेपाली नृत्य, झाँकीलगायत नेपाल चिनाउने प्रस्तुति दिँदै आएका छन्। यीलगायत सबै संस्थाहरुले आयोजना गर्ने क्रियाकलापहरू नेपालको संस्कृति संरक्षणमा उत्तिकै योगदान दिइरहेका छन्। जुन आफैँमा प्रशंसनीय पनि देखिन्छ।

नेपालीको संख्यासँगै नेपाली संस्था बढी हुँदा सकारात्मक पक्षसँगै नकारात्मक पक्ष पनि उत्तिकै देखिएको छ। अचम्मको कुरा त पछिल्लो समयमा पोर्चुगलबाट बेल्जियम बसाइँसराइ गरेर आएकाहरुले पोर्चुगल-बेल्जियम नेपाली समाज गठन गरेका छन्। यो रूपले अगाडि बढ्यो भने युरोपका अन्य देशहरूबाट बेल्जियम आउने नेपालीहरुले यस्तै अन्य संस्था नखोल्लान् भन्न सकिँदैन। संस्था खोलेर सक्रियताका साथ काम गर्ने र नगर्ने दुवै छन् बेल्जियममा।

युरोपमा विगत लामो समयदेखि विभिन्न संघसंस्थाहरुमा बसेर काम गरेकी माओवादी नेतृ सुष्मा भुषाल बेल्जियममा यति धेरै संस्था हुनु ठीक नभएको बताउँछिन्।

'सबै संस्था सक्रिय भएर देशको लागि काम गर्दछन् भने त्यो अर्को राम्रो पाटो पनि हो। बेल्जियमको हकमा सक्रिय साथ काम गर्ने संस्था आधा मात्रै छन्', नेतृ भुषाल भन्छिन्, 'नत्र पद, आसन, भाषणका लागि मात्रै खुलेका छन्। बग्रेल्ती खुलेका संस्थाले विकृति पनि उत्तिकै ल्याउँछन्।'

उनी थप्छिन्, 'अर्कोतर्फ एउटा व्यक्ति कम्तिमा पनि ४/५ वटा संस्थामा राम्रै सक्रिय पद ओगटेर बसेका छन्। त्यो गलत हो। एक व्यक्ति एक पद लागु गर्ने हो भने बाँकी क्रियाशील व्यक्तिहरूले संस्थामा काम गर्न पाउँछन् र संस्थालाई नयाँ ढंगबाट लैजान सक्छन्। नयाँ पिँढीले चासो दिएर लाग्न सक्छन्। तसर्थ सुधारको लागि सबैले पहल गरेर बेल्जियममा रहेका नेपाली संघसंस्थाको सान उच्च राख्ने प्रयास गर्नु पर्दछ।'

उता एनआरएन युरोपका युवा सह-संयोजक तथा पत्रकार दीपक न्यौपाने भुषालको कुरामा फरक मत राख्छन्। न्यौपानेका अनुसार मातृभूमिको लागि केही गरौँ भनेर पवित्र मनका साथ खोलिने संस्था धेरै हुनु राम्रो मान्नुपर्दछ र संस्था जति धेरै भयो त्यति नै सामाजिक कार्यमा तिब्रता हुन्छI

संस्थाको संख्यात्मक वृद्धिसंगै गुणात्मक उत्पादकत्व बढाउन सके नेपालसंगै प्रवासमा बस्ने नेपालीलाई पनि समय सापेक्ष विभिन्न कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिनेमा उनी ढुक्क देखिन्छन्।

युवा सह-संयोजक तथा पत्रकार न्यौपानेले भन्छन्, 'एउटा व्यक्ति एकभन्दा धेरै संस्थामा सकभर कार्यकारी पदमा नबसेको नै राम्रो। तर आवश्यकताअनुसार कार्यसमिति सदस्यको रुपमा बसेर समय व्यवस्थापन गर्न सकेमा भने खासै असर पर्दैनI तर हामी कहाँ एकै व्यक्ति धेरै संस्थामा आवद्ध हुने र एकअर्का संस्थामा स्पष्ट हुन भने जरुरी रहेको छ।'

पद, आसन, भाषण र आफूलाई एक्सपोज गर्ने उद्देश्यले पनि संस्था खोल्ने गरेको बग्रेल्ती उदारहण पाइन्छ। एउटै व्यक्ति थुप्रै संस्थाका सक्रिय पदहरूमा रहेर काम गर्नेको संख्यामा पनि कमी छैन।

कुनैबेला एक व्यक्ति एक पदको अभियान चलेपनि बेल्जियममा प्रयोगमा ल्याउने न्यून छन्। यी सबै दृश्य मञ्चनले बेल्जियमस्थित नेपालीहरुको पहिलो पिँढीलाई नेपालको ह्याङ्गले नछोडेको हो कि भन्ने भान पनि उत्तिकै देखिन्छ।

यसका साथै समयमा कार्यक्रम सञ्चालन नहुनु, संस्थाको अधिवेशनमा भौतिक काम कारबाही हुनु, राजनीतिक भागवण्डामा पदाधिकारी नियुक्ति हुनु सामान्य जस्तै भएको छ। जुन विकृति जस्तै देखिन्छ।

एउटा फूलबारीमा थरीथरीका रंगीविरंगी फूलहरुको सजावट हुनु आफैँमा राम्रो कुरा हो। जुन बेल्जियममा भएका ५७ संघसंस्था यसका उदारहण हुन्। संस्था हुँदा संस्कृति बचाउ हुन्छ। जति धेरै संस्था उति नै विकृति पनि छ।

सबै संस्थाका प्रतिनिधि कुनै कार्यक्रममा बोल्न थाले भने के होला हालत? आफैं अनुमान गर्नुस् त। सबैलाई आसन र भाषण गर्न पनि परेको छ। एउटा व्यक्ति चार/पाँच वटा संस्थामा रहने अनि कुनै कार्यक्रममा जाँदा संस्थाको प्रतिनिधिको रूपमा सम्मान दिँदा एउटै व्यक्तिले चार/पाँच फेर हात उठाएर सहभागिता भएको देखाउनु आफैँमा लाजमर्दो कुरा हो।

धेरै संस्था भएपछि देखिएको समस्याबारे आफ्नो धारणा राख्दै आन्तरप निवासी प्रेम पाठकले गुनासो पोख्दै भने, 'सांस्कृतिक गतिविधी हुनु राम्रो कुरा हो तर यहाँ त संस्कृतिको नाममा गलत कार्यलाई प्रसय दिइँदै छ। नेपालमा कुनै व्रतबन्ध वा केटाको बिहेमा गयो भने टिका लगाएर दक्षिण दिने चलन छैन तर त्यो यहाँ फैलिएको छ। छोरीको बिहेमा जाँदा दिनु ठीक छ तर केटाको बिहे भोजमा निम्तो मान्न जाँदा पनि दिनुपर्ने नियम कत्तिको जायज होला? के नेपालमा यस्तो थियो? थिएन भने यहाँ किन ? प्रष्ट छ अर्थ लाभ। जुन गलत हो।त्यसैले संस्कृति संरक्षणसँगै विकृति पनि हावी छ। यसको लागि संस्थाका लिडरहरु बेलैमा सचेत भएनन् भने नयाँ पिढीसँगै सबै पुराना असल संस्कार कालान्तरमा लोप भएर जान बेर लाग्ने छैन।'

प्रवासमा रहने हरेक सामाजिक संस्थाका मूलभूत उद्देश्यहरू एउटै हुने हुँदा उस्तै प्रकृतिका संस्थाहरू एकीकरण गरेर जाँदा सम्पूर्ण सामाजिक क्रियाकलापहरू एकै संस्थामार्फत गर्न सकिने एनआरएन बेल्जियमका उपाध्यक्ष तीर्थ धमला बताउँछन्।

उनी भन्छन्, 'वास्तवमा धेरै संस्थाहरुले गर्दा हामी आफैँमा धेरै छरिएर गर्न खोजेको कुराहरु गर्न सकिरहेका छैनौं। अबका दिनमा यसबारेमा छलफल चलाउन नसकिने पनि होइन। धेरै संस्थाले धेरै अभियन्ता जन्माउन पर्नेमा धेरै नेता जन्माएर बिग्रेको हो कि जस्तो पनि लाग्दैछ। अर्को कुरा एउटै व्यक्ति विभिन्न संस्थामा आबद्ध भइदिने चलनले गर्दा संस्थाले पाउनु पर्ने उसको समय र सक्रियता पाउन सक्दैन। यसले उक्त व्यक्ति सम्बन्धित संस्थाहरु कमजोर हुन जान्छ। त्यसैले एक कार्यकाल एक व्यक्ति एक संस्था एक पद उत्तम रहला।'

उपाध्यक्ष धमला ६ वर्ष अगाडि कास्की समाज बेल्जियमको महासचिव भएका थिए, तर विविध कारणवस समाजको हुन नपाएको दोस्रो अधिवेशन महासचिवको हैसियतमा आफूले छिट्टै गराउन गइरहेको धमलाले प्रष्ट पारे।

तीर्थ धमला, सुष्मा भुषाल र प्रेम पाठकको भनाइसंग दिनेश भण्डारी र दुर्गा प्रसाद सुबेदी सहमत देखिन्छन्। भण्डारी नेपाली कांग्रेसनिकट नेपाली जन सम्पर्क समिति बेल्जियमका पूर्व महामन्त्री हुन् भने सुबेदी एभरेष्ट नेपाली समाज ब्रूजका पूर्व अध्यक्ष हुन्।

उनीहरू दुवैको एउटै मत छ, 'संस्था धेरै खोलेर आसन, भाषण र खादामा मात्रै सीमित रहनु ठीक होइन। एउटा व्यक्ति एउटै संस्थामा मात्रै बसेर काम गर्न सक्यो भने उसले धेरै राम्रा कामहरू गर्न सक्छ। तर धेरै संस्थामा रहेर काम गर्न थाल्यो भने उसको छवि धमिलिन पनि सक्छ। एक व्यक्ति एक पद हुँदै संस्था संख्यात्मक रूपमा कम हुँदै परिणाममुखीसहित गुणात्मक हुनसक्यो भने बेल्जियमबासी नेपालीहरुका लागि राम्रो हुने देखिन्छ।'

सानो देश बेल्जियम त्यसमा पनि नेपालीहरुको सानो संख्या र धेरै नेपाली संस्था हुनु आफैंमा खुसीको कुरा पनि हो। तर संस्था खोलेर नेपाली पारा देखाउने,बेल्जियमको सिस्टम अनुसार नचल्ने, सस्तो लोकप्रियताका लागि अनेकौं संस्थामा आवद्ध रहने,आसन र भाषणका लागि सीमित रहने व्यक्ति तथा संस्थाहरुलाई निरुत्साहित पार्नतर्फ लाग्नु पर्ने देखिन्छ। होइन भने जति धेरै संस्था भयाे उति नै नेपाली-नेपालीबीचको प्रतिस्पर्धा र आपसी कलह वृद्धि हुनेमा दुई मत देखिँदैन। यसतर्फ बेलैमा ध्यान दिनुपर्ने देखिन्छ।

प्रकाशित मिति: : 2022-09-18 15:22:00

प्रतिकृया दिनुहोस्