मलेसियामा भएका नेपाली श्रमिकको समस्या सम्बोधन गर्नेछु: राजदूत पौडेल

गैर आवासिय नेपाली संघ एनआरएनए मलेसियाले चाडपर्वकाे शुभकामना दिएकाे छ।

साेमबार मलेसियाको क्वालालम्पुरस्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा नेपाली व्यवसायी समाज र नेपाल आदिबासी जनजाति महासंघको संयुक्त आयोजनामा एनआरएनए मलेसियाले एक कार्यक्रमकाबीच विजया दशम, शुभ दिपावली र छठ पर्वकाे शुभकामना दिएकाे हाे।

मलेसियाका लागी नवनियुक्त राजदूत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यता र दूतावासका डिसिएम मोती बहादुर श्रीष, एनआरएनए एशिया प्याशिफिक डिआरसी हरि प्रसाद भट्टराई, एनआरएनए मलेसियाका सँस्थापक अध्यक्ष शंकर बहादुर पौडेल तथा बिभिन्न संघ संस्था राजनीतिक दलका भातृ संगठनहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे। 

उक्त कार्यक्रममा संघसंस्थाका प्रतिनिधी र मलेसियामा रहेका नेपालीहरुकाे बधाई पाएका राजदुत पौडेलले नेपाल र नेपालीहरूका लागी नयाँ काम गर्ने बताएका थिए।

दूतावासको सेवा प्रवाहको क्षमता बढाएर मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उनले बताए।

'तलब सुविधा, सीप विकास, आवास, उपयुक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रम स्वीकृतिको अवधि सकिएर कानूनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिनेछाैँ' उनले भने। 

मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिएका श्रमिकहरु गएमा ज्याला र सुविधामा वृद्धि हुने भएकोले त्यसतर्फ प्रयास गरिने उनले बताए।

मलेसियामा विभिन्न पेशामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने बताउँदै उनले सन् २०१८ मा भएको श्रम सम्झौता नविकरणलाई पनि प्राथमिकता दिने बताए।

नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्ध बलियो बनाउने उनले सुनाए। 

'नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनहरुको मलेसियाका बजारमा प्रवर्द्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कुटनीतिमा समेत जोड दिनेछाैँ' उनले भने। 

नेपाल-मलेसियाबीच जनस्तरको सम्बन्ध विस्तारलाई समेत प्राथमिकता दिने उनकाे भनाइ थियाे। त्यसैगरी उनले हाल मुख्य रोजगारीको गन्तव्य मानिएको मलेसियामा धेरै परिवर्तन ल्याउने काेशिस भइरहेकाे उनले बताए। 

प्रकाशित मिति: : 2022-09-26 18:13:00

प्रतिकृया दिनुहोस्