डोल्पामा वर्षातको कहरः चिसोले दुई जनाको मृत्यु, दुई दर्जन पर्यटक अलपत्र

हिमाली जिल्ला डोल्पामा एक सातादेखिको निरन्तर वर्षातका कारण बढेको चिसोको कारण दुई जनाको मृत्यु भएको छ।

उपल्लो डोल्पा जाने क्रममा ठुलिभेरी नगरपालिका ७ बस्ने नरेन्द्र विक चिसोले फोक्सुण्डोमा मृत्यु भएको जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक निरञ्जन थापाले जानकारी दिए।

उनी विदेशी नागरिकको पथ प्रदर्शनका लागि फोक्सुण्डो पुगेको थापाले बताए। उनको शव आजै हेलिकप्टरमा सदरमुकाम ल्याइने उनले जानकारी दिए।

त्यसैगरी ठुलिभेरी नगरपालिका वडा नं १० बस्ने कर्ण बहादुर डाँगीको डोल्पोबुद्ध गाउँपालिकामा पर्ने तिन्जेबाट धो आउने क्रममा छोइला लेकमा हिँउमा पुरिएको प्रहरीले जनाएको छ।

डाँगीको सरसामान भेटिएपनि शव भने नभेटिएको र आज पनि प्रहरीले खोजीकार्य गरिरहेको प्रहरी नायव उपरिक्षक थापाले बताए।

दुई दर्जन धेरै पर्यटक अलपत्र

एक सातादेखिको निरन्तर वर्षातका कारण डोल्पा घुम्नकालागि पुगेका दुई दर्जन धेरै स्वदेशी तथा विदेशी पर्यटक पर्यटक विभिन्न ठाउँमा अलपत्र परेकाछन्।

उपल्लो डोल्पाको शे गुम्बा,धोलगायतका ठाउँमा पर्यटकहरु अपलत्र परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

आजमात्रै डोल्पोबुद्ध गाउँपालिकाको धोबाट पन्ध्र जना विदेशी नागरिकको हेलिकप्टरबाट उद्धार गरिएको डिएसपी थापाले जानकारी दिए।

त्यसैगरी आइतबार शे गुम्बाबाट पनि दुइ दर्जन धेरै पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको उनले बताए। वर्षातका काण एकसाता देखि डोल्पामा फोन तथा इन्टरनेट सेवा बन्द थियो।

सोमबार मात्रै वर्षात रोकिएपछि फोन तथा इन्टरनेट सेवा सुचारु भएको छ।

जाजरकोट डोल्पा सडक अवरुद्ध

एक सातादेखि निरन्तर बर्षातको कारण जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत पर्ने त्रिवेणी दुनै सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ।

सडकका विभिन्न ठाउँमा पहिरो खसेर बाटो अवरुद्ध भएपछि आन्तरिक जिप सेवा बन्द भएको छ भने सर्वसाधारणहरु जोखिम मोलेर आवजजावत गर्न बाध्य भएकाछन्।

वर्षातका कारण बाटो अवरुद्ध भएपछि त्रिपुराकोट दुनै सडकखण्डमा चल्ने जिप सेवासमेत अवरुद्ध भएको छ।

निरन्तरको वर्षातका कारण जिल्लाभरी क्षति पुर्याउनुका साथै घरहरु,बाटाघाटाहरु भत्किएको जलविद्युत सेवा अवरुद्ध भएको त्रिपुरासुन्दरी नगरपालिकाका स्थानीय देवीकृष्ण उपाध्यायले बताए।

प्रकाशित मिति: : 2022-10-10 13:26:00

प्रतिकृया दिनुहोस्