यत्र–तत्र–सर्वत्र 'नम्बरै नम्बर'

हिमाल खबर

तुङ्ग बास्तोला

नेपालीमा गन्ती बुझाउने सङ्ख्या शब्दको अर्थमा अङ्ग्रेजीको ‘नम्बर’ (Number) प्रयोग हुने गरेको छ। अङ्ग्रेजीबाट रुप नफेरिई जस्ताको तस्तै आएको यो शब्दलाई नेपाली जनबोलीले स्वीकार गरिसकेको छ। प्रयोगका हिसाबले पनि यो शब्द सङ्ख्या जत्तिकै चल्तीमा छ। ‘उसले एक नम्बरमा नाम निकाल्यो’ भनेको सुन्दा हामीलाई सजिलो लाग्छ। ‘उसले एक सङ्ख्यामा नाम निकाल्यो’ भन्दा केके नमिले जस्तो लाग्छ। सञ्चार माध्यमले पनि नम्बर शब्दलाई उत्तिकै मन पराउँछन्- ‘अवैतनिक दूतलाई फेरी झन्डा र नीलो नम्बर प्लेट’।

नेपालका कानून, पुस्तक, पत्र–पत्रिका आदिमा नम्बर शब्दको प्रयोग व्यापक छ। नम्बरको विशेषण ‘नम्बरी’ शब्द पनि वर्षौं देखि चल्तीमा छ-पहिलेपहिले सरकारले विशिष्ट पण्डितलाई नम्बरी पण्डितको मान दिने चलन रहेछ। सय रुपैयाँको नोटलाई नम्बरी नोट पनि भनिन्छ। असल दर्जाको सुन नम्बरी हुन्छ। तर जीविकोपार्जनका निम्ति गरिएको भए तापनि ‘दुई नम्बरी’ धन्दालाई राम्रो पेशा मानिँदैन। ‘नेपाली जिभ्रामा पचिसकेको’ मानेर नम्बर र नम्बरी दुवै शब्दलाई नेपाली शब्दकोशले प्रविष्टि दिएको छ।
 

प्रकाशित मिति: : 2022-10-10 13:47:00

प्रतिकृया दिनुहोस्