मानव तस्करीको आराेप खेपेकी कुँवरलाई​​​​​​​ माओवादीले बनायाे उम्मेदवार

आगामी संसदीय निर्वाचनमा सत्तारूढ गठबन्धनले नेकपा (माओवादी केन्द्र)की नेतृ गाेमा कुँवरलाई जुम्लाको प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ ।  २०७० मा सम्पन्न दाेस्राे संविधानसभाकाे निर्वाचनबाट समानुपातिक काेटाबाट संविधानसभा सदस्य बनेकी उनी पशुपंक्षी राज्यमन्त्री समेत बनेकी थिइन्।

कुँवर विवादास्पद छवि भएकी नेतृ हुन् । संविधानसभा सदस्य हुँदा मानव तस्करीजस्ताे गम्भीर मुद्दाको अनुसन्धानमा तानिएकी थिइन् । त्यतिबेला उनीसँगै  माओवादीका अन्य आठ सांसद  पनि अनुसन्धानमा तानिएका थिए । 

 स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको थियाे।

परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिसपत्र किर्ते गरी नक्कली पीए बनाएर अर्कै व्यक्तिको नाम थपेको विषयमा केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूमाथि अनुसन्धान अगाडि बढाएको थियाे।

संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको भिसा सिफारिस पत्रका आधारमा कन्सुलर सेवा विभागले उनीहरूको नाममा सिफारिस पत्र दिएको थियो। संसद् सचिवालय र विभागको पत्रमा सांसदको मात्रै नाम सिफारिस थियो। तर, स्पेनका लागि भिसा आवेदन गर्दा सबैको पत्रमा व्यक्तिगत सहयोगीका रूपमा एक–एक जनाको नाम थपिएको थियो।

कन्सुलरको पहिलो पत्रमा कूटनीतिक राहदानीको नम्बरसहित स्पेन जाने सभासदको नाम, कार्यक्रम र कार्यक्रमको अवधि उल्लेख थियाे।

दूतावासमा भिसाका लागि पुगेको कन्सुलरको पत्रमा भने सांसदको नाम, कार्यक्रम र कार्यक्रमको अवधिसँगै सांसदसँगै अन्य एक जनाको नामसमेत थपिएको थियाे।

कुँवरको भिसा सिफारिस पत्रमा भरत दनुवारको नाम निजी सहयोगी भनेर राखिएकाे थियोे। जबकी उनका स्वकीय सचिव श्रीमान् वीर बहादुर कुँवर थिए।

उनले स्पेनमा 'इन्टरनेसनल इन्स्टिच्युट अफ सोसल एन्ड इकोनोमिक साइन्स'को कार्यक्रममा सहभागी हुन आवेदन दिएकी थिइन्। उनको कूटनीतिक राहदानी र सहयोगीको नाममा सामान्य राहदानीमा भिसा आवेदन भएपछि भारतस्थित स्पेनी दूतावासले शंका लागेर त्यसबारे कन्सुलर विभागलाई सोधेको थियो। 

विभागले भिसा आवेदनमा पेस भएको पत्र र आफूले सिफारिस गरेको पत्र भिडाउँदा नाम थपिएको पत्ता लागेपछि किर्तेको जानकारी परराष्ट्र मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयसम्म पुगेको थियाे।

सुरूमा यसबारे अपराध अनुसन्धान विभाग (सीआईडी) ले अनुसन्धान थालेको थियो। कन्सुलर शाखा स्रोतका अनुसार सीआईडीका एसपी जगतमान श्रेष्ठसहितको प्रहरी टोली त्रिपुरेश्वरस्थित कन्सुलर कार्यालय पुगेर ती सांसदको सिफारिस पत्रलगायत कागजात लिएर गएको थियो।

प्रारम्भिक अनुसन्धानमा पत्र किर्ते गरी मानव तस्करीमा सांसदको संलग्नता देखिएपछि सीआईडीले अनुसन्धानसँग सम्बन्धित सबै कागजात ब्युरोमा पठाएको थियो। ब्युराेले त्यसपछि टोली गठन गरी अनुसन्धान अगाडि बढाइएको थियाे।

यसबारे सांसद कुँवरले विभिन्न पत्रपत्रिकामा दिएकाे प्रतिक्रियामा भने व्यक्तिगत सहयोगी वीरबहादुर कुँवर भएपनि स्पेन जाने पत्रमा सहयोगी भनिएको भरत दनुवार राखिएकाे स्वीकारेकी थिइन्। तथापि ती व्यक्तिसँग आफ्नाे चिनजान नभएकाे बताएकी थिइन्।

एक त कम्युनिष्ट त्यसमाथि युद्धको पृष्ठभूमिबाट आएकाे पार्टीकाे अनुशासनलाई समेत लत्याएर हेडक्वार्टर र संसदीय दललाई जानकारी नदिएपछि उनीहरूको नियमाथि पार्टीले नै प्रश्न गरेकाे थियाे।

त्यतिबेला अन्य संसदहरूले मानव तस्करीमा सांसदहरूको संलग्नताबारे आठ जना सांसदको मात्रै नभई समग्र संसदकै मर्यादामा आँच आएको भनि प्रश्न उठाएका थिए।

त्यसबेला कांग्रेसका सांसद रामहरि खतिवडाले विशेष समयमा बाेल्दै विदेश भ्रमणमा जाँदा स्वकीय सचिव र सहयोगीका नाममा अनाधिकृत व्यक्ति लगेर उतै छोड्ने कार्यमा सांसद मात्र नभई सरकारकै मन्त्रीहरू समेत संलग्न रहेको बताएका थिए। 

उनले २०४६ पछिका मन्त्रीहरूले विदेशमा कतिजनालाई यसरी छोडेका छन्? तत्कालै छानविन गरी स्वेतपत्र जारी गर्नुपर्ने विचार राखेका थिए।

माओवादी केन्द्रले मानव तस्करी र सरकारी कागजपत्र किर्ते बनाएकाे अनुसन्धानमा पार्टीका आठ सांसद तानिएपछि नेता अमिक शेरचनको संयोजकत्वमा कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भूसाल रहेको तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको थियाे।

प्रकाशित मिति: : 2022-10-28 21:50:00

प्रतिकृया दिनुहोस्