पार्टीमा आन्तरिक समस्या छैन् : डाक्टर शर्मा

File photo
File photo

मोरङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार डाक्टर सुनील शर्माले पार्टीमा कुनै आन्तरिक समस्या नरहेको बताएका छन्।

आज पत्रकारहरूसँग कुरा गर्दै उनले १२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध व्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नुपर्ने बताए।

उनले भने, 'पार्टीले आधिकारिक उम्मेदवार बनाएपछि म मान्दिनँ भन्न पाइन्छ। तर, लोकतान्त्रिक पार्टीको सदस्य बनेर म मान्दिनँ भन्न मिल्दैन।'

पार्टीमा योगदान दिएका लामो समयसम्म जेलनेल भोगेर काम गरेका सम्पूर्ण अग्रजहरू प्रति उनले आदर भाव प्रकट गर्दै उनले भने, 'पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भयो। त्यो पनि लोकतन्त्रको सुन्दर पक्ष हो। लोकतन्त्रको अभ्यासमा प्रतिस्पर्धा हुन्छ। कोही हार्छन्, कोही जित्छन्। हामी कहाँ पनि त्यही भयो। तर,  हार्दैमा अवसर सकिने र जित्दैमा सबै अवसर पाउने हाेइन।' 

डाक्टर शर्माले आफू निर्वाचनको मैदानमा आएकै दिन सबैसँग कान समाएर माफी मागेको स्मरण गर्दै भने, 'अझै पनि साथीहरूसँग संवादको ढोका बन्द भएको छैन।' 

मिडियामा आफूविरुद्ध आएका समाचारको कुनै टिकाटिप्पणी नगर्ने बताउँदै उनले थपे, 'मैले सयौं विद्यार्थीलाई निशुल्क पढाएँ। डाक्टर, स्वास्थ्य प्राविधिक बनाए। मृत्युसँग संघर्ष गरिरहेकाहरूलाई एक रुपैयाँ नलिई उपचार गराएँ। बिरामीको कुरुवालाई समेत खान दिएर उपचारमा सहयोग गरें।  मैले न बिरामीलाई पार्टी सोंधें ? न कुन चिन्हमा मत हाल्छौँ भनेर नै सोधें। मोरङका गाउँ गाउँमा एम्बुलेन्स पुर्याएँ। स्वास्थ्य उपचार र चिकित्सा शिक्षामा अल्पसंख्यक गरिब र सीमान्तकृत वर्गका सन्थाल, मुसहर, डोम, बातरको पहुँच पुर्याएको छु। तराईका हुन वा हिमाल र पहाडका दलित समूदायका विपन्न विद्यार्थीहरूलाई पूर्ण छात्रवृतिमा पढाइरहेको छु।  यी सबै सामाजिक गतिविधिको समाचार किन आउँदैन ?'

पूर्वाग्रही भएर लेखेको समाचार र पत्रकारिता लामो समयसम्म नटिक्ने उनको भनाई छ। शर्माले केही गर्न नसक्नेहरूले लगाउने आरोपका पछि लाग्नुको अर्थ नरहेको बताए।

प्रकाशित मिति: : 2022-11-06 13:13:00

प्रतिकृया दिनुहोस्