पर्यटककाे राेजाइमा डाेल्पा, मोटरसाइकलमा यात्रा गर्नेहरु पनि बढे

हिमाली जिल्ला डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।

पाँच वर्षअघि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै प्रत्येक वर्ष डोल्पा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्या पनि बड्दै गएको छ। डोल्पामा मात्रै दर्जनौँ पर्यटकीय आकर्षणहरु रहेका छन्। निलो हिराको रुपमा परिचित नेपालकै गहिरो फोक्सुण्डो ताल, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, शे–गुम्बा,धो उपत्यका, छार्काभोट, जगदुल्ला ताल प्रमुख पर्यटकीय गन्तव्य हुन्।

साउन यता मात्रै २ हजार ४ सय ९२ जना पर्यटकले फोक्सुण्डो तालको अवलोकन गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए।

गत असोजमा परेकाे वर्षातका कारण दर्जन धेरै ठाउँमा पहिरो खसेर भेरी करिडोर करिब दुई साता अवरुद्ध हुँदा अघिल्लो वर्षभन्दा करिब पाँच सय पर्यटक घटेको उनले बताए।

‘अघिल्लो वर्ष तीन हजार पर्यटकले फोक्सुण्डो घुमे, यो वर्ष पाँच सय घटे, सजिलो र स्तरीय सडक सुविधा, सञ्चार  र होटेलहरुको राम्रो सुविधा हुने हो भने पर्यटकको ओइरो लाग्छ’, उनले भने।

डोल्पा धार्मिक सांस्कृतिक र पर्यटकीय सौन्दर्यताका हिसाबले धेरै अगाडि रहेकाले धेरै मान्छेहरुले डोल्पा घुम्ने चाहना राख्ने गरेको उनको भनाइ छ।

‘निकुञ्जले पर्यटकका लागि सूचनामुलक होर्डिङ बोर्डहरु राखेको छ, सुलिगार्ड फोक्सुण्डो बिचमा विश्रामस्थलहरु निर्माण गरेका छ, ठाउँ ठाउँमा शौचालयहरु बनाएको छ, पर्यटकहरु घुमाउन पर्यटक पथ प्रदर्शक तालिम दिएका छ, होटेलहरुलाई क्षमता अभिवृद्धी तालिमहरु दिएका छ’,संरक्षण अघिकृत भण्डारीले थपे।

सडक पूर्वाधारको समस्या

डोल्पा घुम्नका लागि सडक पूर्वाधारको राम्रो सुविधा नहुँना चाहन भएर पनि आउन नसकिने आन्तरिक पर्यटकहरुले बताएका छन्।

जाजरकोटदेखि दुनैसम्म पर्ने १ सय १८ किलोमीटर लामो भेरी करिडोरको स्तरउन्नती नहुँदा ज्यान जोखिममा पारेर यात्रा गर्नुपर्ने सुर्खेतबाट डोल्पा घुम्न आएका पर्वत खत्रीले बताए।

साँघुरो कच्ची बाटो, पुराना थोत्रा जीप, दर्जनौँ गाडी परिवर्तन गर्नुपर्ने, महँगो भाडादर भेरिकरीडोरको विशेषता पाएको उनले गुनासो गरे।

डोल्पा अत्यन्तै सुन्दर भएकाले सडक पूर्वाधारको मात्र राम्रो सुविधा भए प्रत्येक वर्ष आन्तरिक पर्यटकको ओइरो लाग्ने खत्रीको भनाइ छ।

जहाज भन्दा मोटरसाइकलमा आउने धेरै

डोल्पासम्म पुग्ने अर्को माध्याम हवाइ जहाज पनि हो। नेपालगञ्ज र सुर्खेतदेखि आधा घण्टाको यात्रामै डोल्पा पुग्न सकिन्छ।

त्यति मात्र नभई राजधानी काठमाडाैँबाट पनि एक घण्टाको यात्रामा सिधै डोल्पा पुग्न सकिन्छ। तर, डोल्पासम्म सडक खुलेसँगै अधिकांश पर्यटकहरु मोटरसाइकलमा आउने गरेका छन्।

नेपालगञ्ज–सुर्खेत–जाजरकोट–रुकुम हुँदै मोटरसाइकलमा सजिलै डोल्पा दुनैसम्म पुग्न सकिने भएकाले पनि जहाजमा भन्दा अघिकांश पर्यटकहरु मोटरसाइल ट्रेक गरेर डोल्पा पुग्ने गरेका हुन्।

कर्म खर्च, गाडी कुर्नु, ठाउँ–ठाउँमा गाडी परिवर्तन गर्नु एकदमै झन्झट हुने भएकाले सडक राम्रो भएको अवस्थामा भेरीको तिरैतिर मोटरसाइकलमा ट्रेक गर्दा स्वर्गीय आनन्त प्राप्त हुने सुर्खेतकै पर्वत न्यौपानेले बताए। डोल्पा घुम्ने योजना बनाउनुअघि मौसमको भने ख्याल गर्नुपर्ने उनको भनाइ छ।

होटेल व्यवसायी खुसी

प्रत्येक वर्ष डोल्पा घुम्ने आन्तरिक पर्यटक आउन थालेपछि होटेल व्यवसायीहरु खुसी भएका छन्।

साउन देखिनै आन्तरिक पर्यटकहरु खचाखच हुन थालेपछि दुनै, त्रिपुराकोट, सुलिगार्ड, फोक्सुण्डो लगायतका बजारका क्षेत्रका व्यवसायी खुसी भएका हुन्।

पर्यटक भित्रिएकाे बेला कहिलेकाहीँ दिनमै एक लाखसम्म व्यापार हुने फोक्सुण्डो झरणा होटल त्रिपुराकोटका प्रोपराइटर पूर्णिमा बोहोराले बताइन्।

खर्चका हिसाबले विदेशी भन्दा स्वदेशी पर्यटकले धेरै खर्च गर्ने भएकाले व्यवसायीका लागि आन्तरिक पर्यटक आउनु फाइदा हुने उनको भनाइ छ।

प्रकाशित मिति: : 2022-11-14 11:17:00

प्रतिकृया दिनुहोस्