असोज १९ देखि २६ गतेसम्म परेको अविरल वर्षापछि आएकाे बाढीका कारणले कनकासुन्दरी-४ हाटसिञ्जास्थित हिमा नदीमाथि बनेकाे काठेपुल बगाएका थियाे।
कालिका आधारभूत विद्यालय जाने उक्त पुल नहुँदा निकै समस्या भएकाे स्थानीय अभिभावकले गुनासाे गर्दै आएका थिए। यतिबेला उक्त विद्यालयमा मतदान केन्द्र राखिएकाे छ। एक साताअघि पुल बनाइएपछि मतदान गर्न जाने मतदाता तथा विद्यार्थीलाई सहज हुने भएकाे छ।
हिमा नदीबीचको टापुमा विद्यालय, वडा कार्यालय, आँखा अस्पताल, पशु शाखा, कृषि शाखा, स्वास्थ्य चौकी हुँदा सरकारी सेवा अस्थायी कार्यालय स्थापना गरेर दिनु परेकाे थियाे।
सिफारिसलगायतका सेवा गाउँमै अस्थायी कार्यालय खोलेर दिने गरिएको वडाअध्यक्ष धनमानसिंह हमालले जानकारी दिए।
पुल नबनाउँदासम्म मतदान केन्द्रसम्म कसरी पुग्ने भन्ने चिन्ता भएपनि अब समस्या हल भएकाे स्थानीयकाे भनाइ छ।
वडा कार्यालयको पहलमा मतदानमा खटिएको नेपाली सेना, हाटसिञ्जा प्रहरी चौकी, म्यादी प्रहरी र स्थानीयको सहयोगले एक हप्तामा ३ वटा पुल निर्माण हुँदा आवतजावत सहज भएको वडाध्यक्ष हमालले बताए।
'पुल निर्माणपछि सबै समस्या हल भएका छन्,' उनले भने, 'हिमा नदीमाथि ३७ मिटर लामो काठको पुल बनेको छ।'
पुलका लागि नदीले बगाएर ल्याएको काठ समात्न र खाजा खर्चबाहेक अन्य काममा नेपाली सेना, प्रहरी, म्यादी प्रहरी र स्थानीयले सहयोग गरेका छन्।
पुल बनाउन स्थानीय सरकारले १५ वटा जाली उपलब्ध गराएको थियो। छोटो अवधिमा पुल बनाएर मतदान सहज बनाउनेदेखि सरकारी कार्यालयमा जान सजिलो भएको भन्दै सेना, प्रहरी र सहयोगीलाई वडापालिकाले टीका र दोसल्लाले सम्मान गरेको थियो।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार उक्त मतदान केन्द्रमा ५ सय ९५ मतदाता रहेका छन्।