संसदीय यात्राको पहिलो खुड्किलो पार गर्दै मन्त्री चौधरी

File Photo
File Photo

सहरी विकासमन्त्री मेटमणि चौधरीले दोस्रोपटक सांसद निर्वाचित भई संसदीय यात्राको पहिलो खुड्किलो पार गरेका छन्।

विसं २०७४ को निर्वाचनमा दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट सांसद निर्वाचित भएका चौधरी २०७८ सालमा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए। समाजवादीमा प्रवेश गरेपछि भने उनी पहिलोपटक सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनी विजयी भएका हुन्।

विसं २०२९ चैत १० गते दाङको गठवामा भगवतीप्रसाद र थिवरात्री चौधरीको सुपुत्रका रुपमा जन्मनुभएका उनले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्। राजनीतिसँगै हाल उनी विद्यावारिधि अध्ययनरतसमेत छन्। 

विसं २०४५ मा नेकपा मालेको सदस्यता लिएर उनले राजनीति सुरु गर्नुभएको हो। विसं २०४६ मा उनले अनेरास्ववियु छैटौँको सदस्यता लिए। चौधरी २०४७ सालमा एमाले प्रवेश गरेर विसं २०४८ मा चौधरीले अनेरास्ववियुको क्याम्पस प्रारम्भिक कमिटीमा बसेर काम गरे। उनी २०७५ सालमा एमाले र माओवादी एकता केन्द्र भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य बने। चौधरीले नेकपाको दाङ जिल्लाको सहइञ्चार्ज भएर पनि काम गरे। 

विसं २०७४ मा सांसदमा निर्वाचित भएपछि उनले संसद्का अर्थ समितिमा बसेर पनि काम गरे। विकास र अर्थतन्त्रमा विशेष रुची राख्नुहुने मन्त्री चौधरी २०५९ सालमा भएको प्रतिगमनविरुद्धको आन्दोलनका क्रममा तीन महिना जेल बसेका थिए। सांसद चौधरी आफूलाई समानताको पक्षधर तथा सामाजिक सद्भाव र एकताको पक्षधरका रुपमा परिचित गराउन चाहन्छन्। 

पिछडिएको क्षेत्र, जात र समुदायको पक्षमा उनले निरन्तर वकालत गदै आएका छन्। अधिकार र पहिचानका लागि हुने आन्दोलनमा मन्त्री चौधरीको नेतृत्वदायी भूमिकामा रहँदै आएका छन्। तीन दशक लामो राजनीतिक यात्राका क्रममा उनले दोस्रोपटक सांसद हुने अवसर पाएका हुन्। 

एमालेकी शान्ता चौधरीलाई पाँच हजार मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन्। मन्त्री चौधरीले २६ हजार पाँच सय ६३ मत प्राप्त गरेका हुन्। उनका प्रतिस्पर्धी शान्ताले २१ हजार चार सय ७९ मत पाएका छन्।

प्रकाशित मिति: : 2022-11-25 06:23:00

प्रतिकृया दिनुहोस्