सुनसरी ३ मा एमालेको ‘क्लिन स्विप’, तेस्रो प्रयासमा गच्छदारलाई हराउँदै भगवती विजयी

सुनसरी–३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी भगवती चौधरी विजयी भएकी छिन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई  ५१८८ को मतान्तरले पराजित गर्दै उनी विजयी भएकी हुन्। 

भगवतीले तेस्रो प्रयासमा गच्छदारलाई पराजित गरेकी हुन्। भगवती चौधरीले ४० हजार ७८८ मत पाएकी छन्। उनका प्रतिस्पर्धी नेपाली गच्छदारले ३५ हजार ६०० मत पाएका छन्। 

चौधरी २०७० को निर्वाचनमा उनै गच्छदारसँग पराजित भएकी थिइन् त्यसबेला उनी गच्छदारसँग ३६२ मतले चौधरी पराजित भएकी थिइन्। ०७४ मा फेरी उनी ३२१ मतान्तरले पराजित भइन्। 

यता गच्छदार भने २०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट निर्वाचन लड्दै आएका व्यक्ति हुन्। लगातार चुनाव जिन्दै आएका गच्छदार यसपटक भने पुरानै प्रतिस्पर्धीसँग पराजित भएका छन्।

सुनसरी क्षेत्र नम्बर ३ को प्रदेशसभा (१)मा  नेकपा एमालेका रोहितबहादुर कार्की १८ हजार ६४१ मत ल्याइ विजयी भएका छन्। उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी सरस्वती पोखरेलले ९४९८ मत मात्र ल्याइन्। 

यस्तै प्रदेश (२) मा एमालेका रामदेव यादव विजयी भएका छन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विन्देश्वर यादवलाई ५८८ को मतान्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। रामदेव १९ हजार ४७९ मत ल्याइ विजयी हुँदा पराजित भएका विन्देश्वरले १८ हजार ८९१ मत ल्याएका छन्।

प्रकाशित मिति: : 2022-11-29 18:52:00

प्रतिकृया दिनुहोस्