आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ।
नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज भएको खेलमा नेपाल आयोजक नामिबियासँग ८६ रनले पराजित भएको हो। नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव ५ ओभरमा १८९ रनमा समेटियो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४४ बना । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए भने ज्ञानेन्द्र मल्लले ३० रन जोडे। अर्जुन साउद २९ रनमा आउट भए। आरिफ शेखले १८ रन तथा ललित राजवंशीले ११ रन बनाए।
आसिफ शेखले ७ रन जोडे। नामिबियाका लागि टाँगेनी लुङ्गामेनी, जेजे स्मिथ र नफिदी या फ्रान्सले समान २/२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको थियो।
नामिबियाका लागि मिचेल भान लिङ्गेनले सर्वाधिक ११९ रनको योगदान दिए। उनले १११ बलमा १५ चौका र १ छक्काको मद्दतमा ११९ रन बनाएका हुन्।
त्यस्तै कप्तान जेरहार्ड इरासमले ७६ बलमा एक चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए।
जान निकोल लोफ्टी एटनले ३२ बलमा ४ चौका र एक छक्काको सहयोगमा ४० रन बनाए। लो हान्ड्रे लोउरेन्सले १४ रन बनाउँदा तथा डिभान ला कुक १८ रन जोडे।
नेपालका ललित राजवंशीले ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट झारे। त्यस्तै सागर ढकालले १ विकेट हात पारे। यस सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डको सहभागिता रहेको छ।
यस जितसँगै नामिबिया ३० खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ। नेपाल २३ खेलमा १८ अङ्कसहित छैठौँ स्थानमा रहेको छ। यस सिरिजमा नेपालले आफ्नो अन्तिम खेल भोलि स्कटल्याण्डसँग खेल्नेछ।