५५ लाख पेश्की लिएको दश महिना बित्दा पनि सुरु भएन दुनै-ल्यासीक्याप सडकको काम

ठेकेदार सम्पर्कमा नआउँदा काममा ढिलासुस्ती

जिल्ला सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन।

भेरी करिडोरअन्तर्गत पर्ने यस सडकखण्ड निर्माणका लागि ०७८ चैत्रमा सुर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्नीसँग सम्झौता भएपनि अझै काम सुरु नसकेको हो।

चिन-नेपालको सिमावर्ती क्षेत्र मोरिम्ला नेपालहुँदै भारतको रुपैहिडिया जोड्ने महत्वपुर्ण रणनितिक तथा व्यापारीक सडकखण्डअन्तर्गत पर्ने यस खण्डको काम यथासक्य सुचारु गराउन कार्यालयले बारम्बार ताकेता गरेपनि निर्माण कम्पनीले अझै काम सुरु नगरेको सडक डिभिजिन कार्यालय चौहरजहारीका इन्जिनियर दिलिप यादबले गुनासो गरे।

'दुई पटक ठेक्का किन नतोड्ने व्यहोरा सहितको ताकेता पत्र काटिसकेका छौ,एउटा पत्र गत मंगलबार सात दिने समयसिमा राखेर पत्र काटिएको छ,यदि सात दिनभित्र सम्पर्कमा आएर काम सुरु भएपनि ठेक्का तोड्ने प्रक्रियामा जान्छौ', इन्जिनियर यादवले भने।

'सम्झौता भए लगत्तै काम सुरु गर्ने भनेर ५५ लाख पेश्की रकम रकम समेत गइसकेको छ, ठेकेदारका कारण काममा ढिलासुस्ती भएको हो', उनले थपे।

यस आयोजनाको कुल लागत १३ करोड ४१ लाख भएको कार्यालयले जनाएको छ। दुनै-ल्यासीक्याप सडकखण्डहुँदै काइके गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिकाहुँदै नेपाल चिन सिमामा पर्ने मोरिम्ला नाका पुग्न सकिन्छ।

सडक डिभिजनलाई गाउँपालिकाको ताकेता

सडक डिभिजन कार्यालय चौहरजहारीलाई काइके गाउँपालिकाले यस सडकखण्डको काम तत्काल सुरु गराउन भन्दै २८ मंसिरमा ताकेता पत्र लेखेको छ।

पत्र मार्फत सम्झौता भएको महिनौ वितिसक्दा पनि गाउँपालिकाहुँदै उपल्लो डोल्पासम्म जोड्ने सडक बन्द भएको र आम नागरिकलाई आवत–जावतमा समस्या भएको भन्दै निर्माण कम्पनीलाई तत्काल काम सुरु गराउन अनुरोध गरिएको छ।

सडकखण्डको काम सुरु नभएकै कारण काइके गाउँपालिका सहित उपल्लो डोल्पा पुग्ने सर्वसाधारणलाई धेरै सास्ती भएको काइके गाउँपालिकाका अध्यक्ष अंगत रानाले बताए।

तत्कालै काम सुरु गछौँ : निर्माण कम्पनी

यता श्रेया निर्माण कम्पनीका प्रतिनिधि भिम बोहोराले तत्काल काम सुरु गराउने प्रतिवद्धता जनाएका छन्।

सम्झौता भए लगत्तै काम सुरुगर्ने भनेर डोजर ल्याउन प्रयास गरेपनि बर्खामा खोलानाला बडेर डोजर तार्न नसक्दा काममा ढिलाइ भएको बताए।

'यस सडक निर्माणको गर्नुपर्ने समय सिमा झण्डै तीन बर्ष छ,अब एकबर्ष भित्रै काम सम्पन्न गर्नेगरी यहि पुस बीस गते भित्र कामसुरु गर्छौ', उनले भने।

एकैपटक दुई डोजर ल्याउनु पर्ने र बर्खाको समयमा खोलानाला बडेर डोजर तार्न समस्या भएकाले काममा ढिलाइ भएको निर्माण कम्पनीको भनाई छ।

प्रकाशित मिति: : 2022-12-22 14:40:00

प्रतिकृया दिनुहोस्