पुरुष भलिबल : नेपाल चौँथो स्थानमा

बङ्गलादेशमा भएको काभा २३ वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन रहँदै चौँथो स्थानमा रहेको छ।

बङ्गलादेशको ढाकामा आज तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई ३–२ को सेटमा पराजित गरेपछि नेपाल चौँथो स्थानमा रहेको हो।

खेलको पहिलो सेट २५–२२ ले गुमाएको नेपाल दोस्रो सेटमा भने विजयी भयो। नेपालले श्रीलङ्कामाथि दोस्रो सेट २५–१९ ले जित्यो। त्यस्तै खेलको तेस्रो सेट श्रीलङ्काले २५–१९ ले जित्यो भने खेलको चौँथो सेटमा नेपाल विजयी भयो।

नेपाल २५–२० ले जिते पनि त्यसपछिको सेटमा पराजित भयो। खेलको अन्तिम सेट श्रीलङ्काले १५–१० ले आफनो पक्षमा पारेपछि श्रीलङ्काको जित पक्का भयो। यसजितसँगै श्रीलङ्का भने तेस्रो स्थानमा रहेको छ।

च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको थियो। आजै हुने फाइनल खेलमा आयोजक बङ्गलादेश र किर्गिस्तान भिड्नेछन्।

प्रकाशित मिति: : 2022-12-26 13:45:00

प्रतिकृया दिनुहोस्