क्यान भन्छ– टि- २० लिगमा म्याच फिक्सिङ छैन, सचिनले आफ्नाे धारणा पोखे

काठमाडाैँमा जारी नेपाल टि- २० क्रिकेट प्रतियाेगितामा मगंलबार बिहान विवादमा भयाे।

बिहान ८:३० बजेदेखि सुरु हुने पहिलो खेल काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल २ घण्टापछि सुरु भयो। पारिश्रमिक नपाएको भन्दै नेपाल टि- २० लिगका खेलाडीहरुले खेल खेल्न मानेका थिएनन्। बिहान ८:३० बजे सुरु हुने खेलमा दुवै टोलीका कप्तानले टस गर्न नमानेपछि खेल विवादमा परेको हो। दुबै टोलीले प्लेइङ- ११ मा नाम दर्तासमेत गराएका छैनन्।

नेपाल क्रिकटे संघ (क्यान)को आयोजनमा सञ्चालन भएको टि- २० लिगमा ६ टोली सहभागी छन्। फ्रेन्चाइज टोलीले आफूले पाउने रकम नपाएको भन्दै खेल नखेल्ने निर्णय गरेका थिए तर दुई घण्टा लामो विवादपछि फ्रेन्चाइज टोली र खेलाडीबीच रकमबारे सम्झाैता भएपछि खेल पुन: सञ्चालनमा आएको हो।

त्यस्तै मंगलबार बिहान टि- २० लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमल्सिनाले नेपाल टि- २० लिगमा म्याच फिक्सिङ भएको आराेप लगाए। उनले टि- २० लिगको सुरुआतबाटै कमेन्ट्री गर्न सुरु गरेका थिए। मगंलबार बिहान उनले आफ्नाे सामाजिक सञ्जालमार्फत् एउटा भिडियो सार्वजानिक गर्दै नेपाली क्रिकेटभित्र अहिलेसम्म आफूले नदेखेको कुरा देख्दा आफू अचिम्मत भएको बताएका छन्। उनले यस लिगभित्र भ्रष्टाचार भएको कुरा बताएका छन्।

यस बारेमा उनले क्यानका पदाधिकारीसँग सम्पर्क गर्न खोज्दा क्यानले बेवास्ता गरेको बताएका छन्। उनले आफू १० दिनसम्म कमेन्ट्री गर्दा देखेको र भोगेको बारेमा भिडियोमार्फत् बताएका छन्। त्यस्तै, यता क्यानका महाप्रबन्धक ब्रितान खनालले कमेन्ट्री सचिन तिमल्सिनाले आफ्नाे धारणा मात्र व्यक्त गरेको र खेलमा कुनै पनि म्याच फिक्सिङ नभएको दाबी गरेका छन्।

उनले बिएल नेपाली सेवासगँ भने,‘सचिनले आफ्नाे व्यक्तिगत धारण मात्र व्यक्त गरेका हुन्, क्यानमा त्यस्ताे कुनै समस्या छैन।’ क्यानले साे लिगमा विभिन्न देशका खेलाडीहरुलाई लिगमा खेल्न बोलाएको थियो। तर, कतिपय प्रशिक्षक र खेलाडीहरुले लिग सक्नुअघि नै आफ्नाे देश फिर्ता भएका छन्। महाप्रबन्ध खनाल भन्छन्,‘यस विषयमा बाहिर समाचार खेलाडीहरु परिश्रामिक नपाएर गएको कुरा आएको थियो तर कतिपय खेलाडीहरुले दुवै देशमा खेलको सम्झौता गरेका हुन्छन् यही कारणले खेलाडीहरुले देश छाडेका हुन्।’

नेपाल टि– २० लिग चलिरहँदा हालसम्म दुई खेलाडी र एक परिक्षकले नेपाल छाडिसकेका छन्। नेपाल टि– २० लिगमा विराटनगर सुपर किंग्सबाट खेलेका जिम्बाबेका सिकन्दर राजा आफ्नाे व्यक्तिगत कारण देखाउँदै नेपाल छाडेका थिए।

जनकपुर रोयल्सबाट खेलेका वेष्ट इण्डियन केसरिम विलियम्स आफ्नाे पिताको निधन भएर स्वदेश फर्किएका थिए। भने, जनकपुरका प्रमुख प्रशिक्षक उमेश पटवाल आफ्नाे श्रीमती बिरामी भएकाले भारत प्रस्थान गरेका छन्।

प्रकाशित मिति: : 2023-01-03 13:26:00

प्रतिकृया दिनुहोस्