तल्नु बगर बेलिब्रिज निर्माणको काम तीव्र

भेरी करिडोरअन्तर्गत पर्ने तल्नु बगर बेलिब्रिज निर्माणको काम धमाधम सुरु भएको छ। नेपालगञ्जदेखि सिधै डोल्पा पुग्नकालागि महत्वपूर्ण पुर्वाधार मानिएको तल्नुबगर बेलिब्रिज निर्माणको काम धमाधम सुरु भएको हो।

सडक डिभिजन कार्यालय चौहरजहारीले एक वर्षअघि नै ठेक्का खुलाएर हिम सगरमाथा खड्का कृष्ण जेभीले ३ करोड ४१ लखमा पुल निर्माणको जिम्मा पाएको झण्डै बाह्र महिना पछि काम सुरु भएको हो।

अघिल्लो वर्ष पुसमा निर्माण कम्पनीसँग सम्झौता भएपनि स्थानीयको अवरोध र बर्खाको समयमा भेरी नदी बढेपछि काम अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय चौहरजहारीका इन्जिनियर दिलिप यादवले जानकारी दिए।

दैनिक पन्ध्र/बीस जना कामदारसहित पुल निर्माणको काम धमाधम सुरु भइरहेकाले फागुन भित्र निर्माणकार्य सम्पन्न हुने उनको भनाई छ।

'पुल निर्माणकालागि आवश्यक सम्पूर्ण सामाग्री निर्माणस्थलमा पुगिसकेको छ। वारीपट्टीको वेस बनेको छ, पारीपट्टीको बन्दै छ। आसा छ दुई महिनाभित्र पुल सञ्चालनमा आउँछ', यादवले भने।

रुकुम, जाजरकोट र डोल्पाका नागरिकको समस्यालाई मध्येनजर राख्दै निर्माणस्थलमा प्राविधिकनै खटाएर काम सुरु गराएको उनले बताए।

जाजरकोट-डोल्पा सडकखण्ड अन्तर्गत पर्ने करोपगार्ड,खदाङ्ग, त्रिपुराकोटको बेलिब्रिज यसअघि नै निर्माण भइसकेको छ। तर, सँगै ठेक्का खुलाइएको रुपगार्ड खोलाको बेलिब्रिजको काम अझै सुरु हुन सकेको छैन।

टेण्डर भएको दुई वर्ष बितिसक्दा पनि रुपगार्ड खोलामा बेलिब्रिज नबनेपछि जीप, ट्रक, मोटरसाइकललगायतका सवारीसाधनहरु जोखिम मोलेर जीर्ण काठको पुलमा गुडिरहेका छन्।

'रुपगार्डमा दुबै तीर बेस बनेको छ, सामान पनि पुगेको छ तर पुल जोड्ने काम भएको छैन्,सवारीसाधन र सर्वसाधारणहरु जोखिम मोलेर आवतजावत गर्न बाध्यछन्'मोतिपुरका स्थानीय अमर कठायतले भने।

सवारीसाधनसँगै मानविय आवतजावत सहजताकालागि कामको जिम्मा पाएको निर्माण कम्पनीले जतिसक्दो छिटो निर्माण गर्नुपर्ने उनको भनाइ छ। यसअघि बेलिब्रिजका लागि बेस बनाउन लगाइएका स्थानीय कामदारले पैसा नपाएपछि उनीहरुले नै काममा अवरुद्ध गरेको पाइएको सडक डिभिजन कार्यालाय चौहरजहारीका इन्जिनियर दिलिप यादवले बताए।

काम भएजत्तिको पैसा निर्माण कम्पनीले लिइसकेकाले कामदारलाई दिन बाँकी पैसा दिएर अन्य काम सुचारु गर्न ताकेता गरिरहेको समेत इन्जिनियर यादवले जानकारी दिए।

तल्नुबगर र रुपगार्डको बेलिब्रिज पुल निर्माण भएसँगै भेरी करिडोरअन्तर्गतका पाँचवटा मुख्य खोलाका पुल बन्नेछन् भने अझै सानातिना खोलामा गरेर आठवटा खोलामा पुल बन्न बाँकी छ।

प्रत्येक वर्ष बर्खाको सयममा यिनै खोलका कारण सवारी आवागमन अवरुद्ध हुने गर्दछ भने त्यस समयमा दैनिक उपयोग्य सामाग्रीको मूल्य पनि महंगिने गर्दछ।

प्रकाशित मिति: : 2023-01-05 10:55:00

प्रतिकृया दिनुहोस्