मलाई अचम्म लाग्यो राहदानी विभागमा चलखेलको कुरा कहाँबाट आयो : सापकोटा (अन्तर्वार्ता)

उमेश थापा

काठमाडौं
File Photo
File Photo

पछिल्लो समय आम सर्वसाधारणले राहदानी पाउन निकै सास्ती भोग्नु परिरहेको छ। दिनभर लाइनमा बसेर पनि राहदानी पाउन मुस्किल छ। कारण हाे, विभाग बाहिर भेटिने बिचाैलिया।

राहदानी बनाउन विभाग पुग्ने अधिकांश सर्वसाधारणलाई बिचौलियाहरुले बाहिरै राेकेर बार्गेनिङ गर्छन्। थप पैसा नबुझाइ काम गर्न नसकिने भन्दै हैरानी बनाउँछन्। बिचाैलियाकै कारण समयमै राहदानी नपाउँदा नागरिकले सास्ती भाेग्नु परेकाे छ। तर सम्बन्धित निकाय भने यस विषयमा खासै चासाे राखेकाे पाइँदैन।  

सर्वसाधारणले दुख भाेगिरहँदा खाेइ त नेपाल प्रहरीले कडाइ गरेकाे? प्रहरी आफैँले बिचाैलियाकाे काम गर्छ भन्ने गुनासाे पनि आइरहेकाे हुन्छ।

छ महिना अगाडि नेपाल प्रहरीका सईले राहदानी विभागमा बसेर बिचौलियाकाे काम गरी राम्रै आम्दानी गरे। अहिले सईलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढेको पनि छ।

नागरिकहरुले राहादानी बनाउँदा दुई पटकसम्म दस्तुर तिरेका हुन्छन्। उनीहरूले मोबाइल बैंकिङ र ई-सेवाबाट पैसा तिर्छन्। कैयौं सर्वसाधारणहरूको पैसा यसरी नै फस्ने गरेकाे एक कर्मचारीकाे भनाइ छ। राहादानी बनाउने क्रममा फसेकाे सर्वसाधारणकाे पैसा फिर्ता गर्ने विषयमा सम्बन्धित निकायकाे कुनै ध्यानाकर्षण भएकाे पाइँदैन।

राहदानी बनाउन सर्वसाधारणले भाग्नु परेकाे सास्तीकै विषयमा रहेर विभागका प्रवक्ता दुरपधा सापकोटासँग बिएल नेपाली सेवाका लागि उमेश थापाले गरेको कुराकानीकाे अंश प्रस्तुत छ :

राहदानी वितरण बन्द नै गर्नुपर्ने वास्तविक कारण के हो?

अहिले राहादानी वितारण सुरु भइसकेको छ। बन्द नै भएको चाहिँ होइन, हिजो पनि हामीले अलि अलि राहादानी वितरण गरेको नै हो।

वितरण बन्द गर्न भित्रि चलखेल छ भनिन्छ नि, यथार्थ के हो?

यस्तो तपाईंहरुले नसोच्नु। तपाईंहरु यहीँ आएर हेर्नु। हाम्रो अनुरोध के छ भने हामीले एउटा कम्पनीसँग सम्झैता गरेको हो। यसकाे सबै प्राविधिक पाटो पनि यही कम्पनीले नै हेर्ने हो। उहाँहरुले काम त गरी नै राख्नुभएको छ।

उहाँहरुले नसकेको खण्डमा मात्रै हामीले बाहिरी प्राविधिक टोलीलाई बोलाएर काम गर्थ्यौं तर उहाँहरुले बनाइसक्नुभएको छ। हिजो पनि अलि अलि काम भइराखेको थियो। पहिलाको जस्तो भने काम भएको थिएन। आजदेखि पासपोर्ट वितरणमा कुनै समस्या आउँदैन।

गृह मन्त्रालयको आइटी टोलीले अध्ययन गर्न लागेको थाहा पाएर त यस्तो भएको होइन?

आइटी टोलीलाई खाटाएर हामीले यस्तो गर्छौं भन्नु नै गलत हो। त्यस्तो पनि तपाईंहरुले सोच्न मिल्छ र। मलाई अचम्म लाग्छ, यस्तो हामीबाट केही भएको होइन। आइटीको कुनै पनि कुरा हामीकहाँ नभए गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालयका होलान्, यस्तो आरोप लगाउनु हुन्न। तपाईंहरु आफैं आएर छानबिन र पत्ता लगाउनु न। गृह मन्त्रालयको आइटी टोलीले अध्ययन गर्न आउनु भनेको राम्रो कुरा हो, झन् जनताहरुलाई हामीले सहज रुपमा पासपोर्ट वितरण गर्न सक्छौं। मान्छेहरुले हामीलाई यस्तो आरोप कसरी लगाउन सक्छन्।

गृह मन्त्रालयको टोलीसँग अब कसरी सहकार्य गर्नुहुन्छ?

हाम्रो सहकार्य राम्रोसँग हुन्छ। उहाँहरु हाम्रोमा आएर आइटीको बारेमा बुझेर जानुभएको छ। परेको बेलामा हाम्रो आइटीसँग सहकार्य गरेर काम गर्नुहुन्छ। अब कसरी अगाडि जाने भन्ने डिसिजन प्रधानमन्त्री कार्यालयबाट आउन बाँकी छ।

प्रकाशित मिति: : 2023-01-05 12:18:00

प्रतिकृया दिनुहोस्