नेपालमा सन्दीप लामिछाने रिहा, अमेरिकामा श्याम पुगे चिसो छिँडीमा

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी, अमेरिका

नेपालमा नावालिग बलात्कारको संगीन आरोप लागेका स्टार क्रिकेटर सन्दीप लामिछाने जेलबाहिर निस्केकै बेला यता अमेरिकामा भने एक सामान्य नेपाली युवा श्याम गौली अन्डरएज केटीका रूपमा सञ्चालित अनलाइन समूह ८१४ प्रेड हन्टरको पासोमा परेर जेल पुगेका छन् ।

अमेरिकामा नावालिग किशोरीहरूलाई बलात्कार र यौनसम्पर्कबाट बचाउन प्रहरी र विभिन्न समुहहरू अनलाइन चाटमा पासो थापिरहेका हुन्छन्। अन्डरएज केटी भएर उनीहरू कामातुर पुरूषहरूसँग चाट गर्छन् र जब त्यस्ता पुरूष यौनसम्पर्कका लागि भनिएको ठाउँमा पुग्छन्, त्यसपछि उनीहरू प्रहरीद्वारा पक्राउ गराइन्छन् ।

अमेरिकामा यस्ता पासोमा पर्ने नेपालीहरूको संख्या उल्लेख्य छ । त्यसमा पनि ३७८ वर्षको जेल सजाय काटिरहेका जनकपुरका अजयकुमार देव त अपवादमै पर्छन् । क्यालिफोर्नियाको साक्रामेन्टोमा बस्दै आएका उनले एक १५ वर्षीय किशोरीलाई १९ वर्षकी हुँदासम्म हरेक साता तीन पटकसम्म बलात्कार गरेर पाँच वर्षमा ७३८ पटक बलात्कार गरेको अदालतले ठहर गर्यो ।

यस्तो कुकर्म गरेबापत जेल पर्नेहरूको संख्या त ठूलै छ,  अमेरिकाबाट नेपाल फर्काइएका नेपालीको संख्या पनि उल्लेख्य छ ।

यसपटकको पासोमा परेका ३४ वर्षीय श्याम गौली नेपालको बर्दीयाका स्थायी बासिन्दा हुन् । न्युयोर्कको लङआइल्याण्डमा बसोबास गर्दैआएका उनलाई नजिकबाट चिन्ने न्युयोर्कका एक नेपालीले बीएल नेपालीलाई भने, ' गौली विबाहित हुन् । उनका नेपालमा श्रीमती र एक सन्तान छन् ।' 

अमेरिकामा नेपालमा जस्तो नावालिगमाथि व्यभिचार हुँदा स्टारहरूको पक्षपोषण गरिदैन । त्यस्तो सोचलाई समाजले घृणा गर्छ र त्यस्तो सोच बोक्नेलाई समाजले बहिस्कार गर्छ । मी टूलगायतका अभियानका कारण अहिले हलिउडका ठूला ठूला यौनपिपासु 'गडफादर'हरू जेलको चिसो छिँडीमा छन् । 

उनी न्युयोर्ककी एक १५ वर्षीय किशोरी बनेर च्याट गर्ने अनलाइन समूह ८१४ प्रेड हन्टरको पासोमा फसे । आफूले च्याट गर्ने किशोरी १५ बर्षकी हो भन्ने थाहा भएपनि उनी यौन सम्पर्कको लागि किशोरीले भनेको  क्लियरफिल्ड काउन्टी पुगे । यसअघि कुराकानीका क्रममा गौलीले यौन फोटो र भिडियोसहित धेरै यौन सन्देशहरू पठाइसकेका थिए । 

क्लियरफिल्ड काउन्टी कोर्टहाउस क्षेत्रबाट पक्राउ परेका गौली अहिले क्लियरफिल्ड काउन्टी जेलमा  छन् । साँढे २ लाख डलर जमानत बुझाउन नसकेर उनी जेलबाट बाहिर निस्कन सकेका छैनन् ।

अमेरिकामा १६ वर्ष नपुगेका किशोरीलाई यौनसम्पर्क गर्ने मनशायले छुन पनि पाइन्न। तर, आपसी सहमतिमा भने १६ वर्षभन्दा माथिका किशोरीसँग यौनसम्पर्क राख्न पाइन्छ। यस्तो उमेर राज्यअनुसार कुनैमा १६, १७ र १८ तोकिएको छ। न्युयोर्कमा भने सहमतिमा यौन सम्पर्क गर्न सकिने उमेर १७ वर्ष तोकिएको छ ।

नेपालमा एउटा आम भाष्य बनाइएको छ कि अमेरिकामा त पूर्ण यौन स्वतन्त्रता छ । त्यहाँ त जे गर्दा पनि हुन्छ। यथार्थमा त्यस्तो हुदैन, अमेरिकी समाजले सचेत यौन सम्बन्धलाई मात्र अनुमति दिन्छ । यहाँ नावालिगहरूको यौन सुरक्षालाई उच्च महत्व दिइएको हुन्छ। 

अमेरिकामा नेपालमा जस्तो नावालिगमाथि व्यभिचार हुँदा स्टारहरूको पक्षपोषण गरिदैन । त्यस्तो सोचलाई समाजले घृणा गर्छ र त्यस्तो सोच बोक्नेलाई समाजले बहिस्कार गर्छ । मी टूलगायतका अभियानका कारण अहिले हलिउडका ठूला ठूला यौनपिपासु 'गडफादर'हरू जेलको चिसो छिँडीमा छन् । 

प्रकाशित मिति: : 2023-01-16 09:25:00

प्रतिकृया दिनुहोस्