मेराे ‘इन्ट्री’पछि लाइसेन्सका बिचाैलियाहरु ‘आउट’ भए: सञ्जय थापा (अन्तर्वार्ता)

उमेश थापा

काठमाडौं

काठमाडाैँकाे ठुलो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालय, सवारी चलाक अनुमतीपत्र कार्यालयमा दिनहुँ सेवाग्राहीहरुकाे घुइँचाे लाग्ने गर्छ। सेवाग्राहीहरुलाई व्यवस्थापन गर्न पनि ठुलो चुनौती छ, सबै यातायात कार्यालयहरुमा। प्राय: यातायात कार्यालयहरुमा बिचाैलीयाहरु धेरै भेटिन्छन।यस कार्यालयमा भने बिचौलियाहरु कम देखिन्छन।

गत महिना मात्र यस कार्यालयबाट २७ जना बिचौलियाहरु पक्राउ परेका थिए। उनीहरु अहिले कारागारकाे चिसाे भुइँमा छन्। तर, यहाँका कर्मचारीहरु कामकाे लागि बिचाैलियाहरुसँग नमिलेकाे दाबी गर्छन्। तर, पनि सेवा लिनकाे लागि सहज वातावरण भने रहेकाे पाइदैन।

आखिर जनताले सहज रुपमा सेवा पाउनुपर्ने यो कार्यालयमा किन बिचौलियाहरुको रजगज हुन्छ ? किन अहिलेसम्म यो कार्यालय व्यवस्थित बनाउन सकिएन ? कहिले हुन्छ यातायात कार्यालय बिचौलिया मुक्त ? यी र यिनै विषयमा रहेर ठुलो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालय, सवारी चलाक अनुमतीपत्र कार्यालयका प्रमुख सञ्जय थापासँग बिएल नेपाली सेवाकाे लागि उमेश थापाले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ:


सेवाग्राहीकाे काम छिटाे र छरिताे हुने वातावरण कहिलेबाट बन्छ ?

हाम्रो यस कार्यालयबाट सेवाग्राहीहरुले छिटो छरितो ढङ्गबाट काम गरिरहेका छन। हाम्रो यस कार्यालय बिचौलिया मुक्त कार्यालय नै हो। हाम्रो यस कार्यालयभित्र बिचौलियाहरु छिरदैनन्। कार्यालय बाहिरबाट पक्राउ परेर जान्छन्, भित्रबाट त होइन। म यस कार्यालयमा आएदेखि जनताको हरेक काममा म आफैं अगाडि सरेको छु।

लाइनको व्यवस्थपा कहिलेबाट हुन्छ ?

यसमा के हुन्छ भने पहिला सुरुमा सेवाग्राहीहरुले पनि बुझ्नुपर्छ। लाइन नै छैन त भन्दिनँ, त्यही पनि हाम्रो कार्यालयमा सेवाग्राहीको लागि बस्ने व्यवस्थापन भने छ। लाइसेन्सको काम हो, तुरुन्त हुन्छ भन्ने त छैन। लाइसेन्स लिने पनि प्रक्रिया छ, त्यसैले सेवाग्राहीहरुले पनि बुझ्नुपर्छ।

मैले यस कार्यालयमा कोही व्यक्ति पनि भित्र छिराएर काम गराएको छैन। सबै सेवाग्राहीहरु समान छन। यदि अपाङ्ग, जेष्ठ नागिरक, आर्मी, पुलीस र सरकारी जागिर गर्ने व्यक्तिहरु आउनुभयो भने हामीले उहाँहरुको भित्रबाट काम गर्दिन्छाैँ, अन्यत्र कसैको काम भित्रबाट भएको छैन।

सेवाग्राहीहरु बिचाैलियासँग मिले मात्रै काम छिटाे बन्छ भनेर गुनासाे गरिरहन्छन्, के यहाँका कर्मचारीहरुले त्यस्ताे काम गर्छन ?

यो सरासर गलत आरोप हो। हाम्रो यस कार्यालयमा बिचौलियाहरुको इन्ट्री नै हुँदैन। अब सेवाग्राहीहरुले जे आरोप लगाउँदा नि हुन्छ नि,  भन्दा पनि भयो। म सेवक हो, सेवाग्राहीहरुको हरेक समस्याको लागि म आफैं खटिन्छु। बाहिर बस्ने मानिसहरुले जे आरोप लगाउँदा पनि हुन्छ। म आएदेखि यहाँ बिचौलियाहरुले नै यस्तो आरोप लगाउन लगाएका हुन, किनभन्दा म बिचौलियासँग मिल्दिनँ। लाइसेन्स भनेको निकै संवेदनशील चिज हो। त्यतिकै लाइसेन्स दिन मिल्दैन। त्यति लाइसेन्स दिने हो भने यो ज्यान मार्ने हतियार हुन्छ।

दैनिक कति ट्र्याल हुन्छ ?

पहिला यस कार्यालयमा दैनिक दुई सय जनाको ट्रयाल हुन्थ्यो। अहिले यस कार्यालयमा दैनिक हजार जनाको ट्रयाल हुन्छ। यो धेरै नै हो, यस्तो कुराहरु पनि सेवाग्राहीहरुले बुझ्नुपर्छ। ट्रयाल धेरै जनाको भयो भनेर हामीले सेवाग्राहीहरुको काममा कुनै बाधा गरेका छैनाैँ। कर्मचारीहरुलाई मिलाएर खटाएका छाैँ। हाम्रो यस कार्यालय धेरै राम्रोसँग काम भइरहेकाे छ।

रगत जाँच गरिसकेका व्यक्तिहरुसँग फेरि जाँच गर्नुपर्छ भनेर पैसा असुली गरिराखेको आरोप छ नि ?

यसमा के हो भने हामीले यस कार्यालयमा रगत जाँच गर्नकाे लागि डाक्टर नै भित्राएका छौँ, गुणस्तर चेक जाँच होस् भनेर। पहिला सुरुमा सेवाग्राहीहरुले बुझ्नुपर्छ। कहाँ कति पैसा लाग्ने हो ? कहाँ नलाग्ने हो ? भनेर। हाम्रो यस कार्यालय पहिला नै रगत जाँच गरिसक्नुभएका सेवाग्राहीहरुलाई जम्मा ९ रुपैयाँ लिने गरेका छौँ।

रगत चेक जाँच नगरेका सेवाग्राहीसँग पनि त जम्मा पच्चास रुपैयाँ लिने गरेका छौँ। सामान्य रुप बाहिर रगत चेक जाँच गर्दा सय रुपैयाँ लिन्छन तर यहाँ आउने सेवाग्राहीहरुसँग त पच्चास रुपैयाँमै चेक जाँच गरेका छाैँ।

मानिसहरु ट्र्यालमा पास त हुन्छन् तर लाइसेन्स भने निकै ढिला पाउँछन नि ?

मेरो मुख्य विषय भनेको नै यही हो। मैले यस विषयमा यातायात व्यवस्था कार्यालय र यातायात मन्त्रालयमा पनि कुरा उठाइसकेको छु। मैले पत्र पनि बुझाइसकेको छु। मेरो मान्यता भनेकाे सेवाग्राहीहरु ट्रयाल पास हुने बित्तिकै लाइसेन्स प्राप्त गर्नुपर्छ भन्ने हो। हाम्रो यातायात व्यवस्था कार्यालयमा स्मार्टकार्ड छाप्ने एउटा मात्र मेसिन छ, अब चाँडोभन्दा चाँडो अरु मेसिनहरु भित्रिदै छन। छाप्ने मेसिन भित्रिएपछि सेवाग्राहीहरुले लाइसेन्स तुरुन्त पाउँछन।

अरु सवारी चलाक अनुमती पत्रका कार्यालयहरुभन्दा तपाईंको कार्यालयमा के फरक छ ?

सुरुमा मेरो यातायात कार्यालयमा बिचौलिया छैनन्। त्यसपछि मेरो कार्यालयमा कार्यरत कर्मचारीहरुलाई भनेको छु, कोही कसैसँग नमिल्नु। हाम्रो यस कार्यालयमा सेवाग्राहीहरुलाई छिटो काम गर्दिन मैले कर्मचारीहरुलाई तालिमको पनि व्यवस्थापन गरेकाे छु। मानिसहरुलाई सहज होस् भनेर टोकनको व्यवस्थापन छ। कुरेर बस्नुपर्ने सेवाग्राहीहरुको लागि तातो चिसो पानीको सुविधा छ।

नेपालको सबैभन्दा धेरै लाइसेन्स वितरण गर्ने यातायात कार्यालय हो यो। हामीले जहिले पनि सेवाग्राहीको लागि बिहान ७ बजेदेखि सेवा दिँदै आइराखेका छौँ। म के भन्छु भन्दा हाम्रो यस कार्यालयमा दुई तीन बजेदेखि मानिसहरु कोही पनि हुँदैनन् किनभने हामीले मानिसहरुको काम यो समयभन्दा अगाडि नै सिधाइसकेका हुन्छौँ।

प्रकाशित मिति: : 2023-01-22 18:53:00

प्रतिकृया दिनुहोस्