ठुलिभेरी नगरपालिकामा सुरु भए १६ महत्वपूर्ण योजना

हिमाली जिल्ला डोल्पाको ठुलिभेरी नगरपालिकामा एकैपटक १६ वटा आधारभूत योजनाहरु सुरु भएका छन्।

नगरपालिकाले शिक्षा, सडक र खानेपानीलाई प्राथामिकतामा राखी योजना सुरु गरेको हो।

नयाँ जनप्रतिनिधि आएको आठ महिनामा पाँचवटा बृहत खानेपानी आयोजना तथा आठवटा विद्यालय भवन निर्माणकालागि सम्झौता भएर पनि काम सुरु भइसकेको नगर प्रमुख सुवर्ण बुढाले बताए।

त्यसैगरी दुनैमा साडेसात करोडमा रंगशाला निर्माण र साडे १२ करोडमा मोतिपुरदेखि लाग्नासम्म सडक ग्रावेल गर्ने काम पनि ठेक्का खुलाइ सकिएको उनले बताए।

नगरपालिकाको वडा नं १,२,३,६,७ र ८ मा बृहत खानेपानी आयोजना निर्माण गर्न लागिएको छ।

लक्ष्मी माध्यमिक विद्यालय थरगाउँ, हिमाललय प्राथमिक विद्यालय थरगाउँ, विद्यामन्दिर माध्यमिक विद्यालय माझफाल, आदर्श माध्यमिक विद्यालय जुफाल, विँडिथान आधारभूत विद्यालय जुफाल, सरस्वती माध्यमिक विद्यालय दुनै, मन्मा प्राथमिक विद्यालय कुम्ली, महादेव प्राथमिक विद्यालय माझफाल, लालिगुँरास प्राथमिक विद्यालय तिप्लामा दुई र चार कोठे भनव निर्माण गर्न लागिएको छ।

नगरपालिकाका विभिन्न क्षेत्रमा हुन लागेका सम्पूर्ण योजनाको काम गुणस्तरीय र पारदर्शी हिसाबमा सञ्चालनहुने नगरपालिकाले जनाएको छ।

चालु आर्थिक वर्षमा विकासतर्फ मात्रै करोडौँ बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकायले जानकारी दिए।

प्रकाशित मिति: : 2023-01-27 11:27:00

प्रतिकृया दिनुहोस्