माधव नेपालको प्रतिवेदन- माअेावादी ढुलमुले, एमाले दक्षिणपन्थी, रास्वपा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी (पूर्णपाठ)

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माअेावादी केन्द्र सत्तास्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर पार्टी भएकाे टिप्पणी गरेका छन्।

ललितपुरको बालकुमारीमा शनिबार जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा माअेावादी अस्थिर र ढुलमुले प्रवृत्ति पार्टी भएको उल्लेख गरेका छन्।

‘प्रतिनिधिसभाको तेस्रो ठुलो दलका रूपमा रहेको नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिष्ट पार्टी हो। यसको पनि वर्ग अडान स्पष्ट छैन। सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिँदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको छ। यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै छ तर सत्तास्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति यसमा देखिएको छ’, उनले भनेका छन्।

यसैगरी उनले नेकपा एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी भएकाे बताएका छन्। एमाले दलाल पूँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको टिप्पणीसमेत गरेका छन्।

उनले भनेका छन्, ‘प्रतिनिधसभाको दोस्रो ठुलो दलका रूपमा रहेको नेकपा (एमाले) दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी हो। यसको वर्ग अडान स्पष्ट छैन। दलाल पूँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ। यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन। विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ।’

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट नभएकाे उल्लेख गरेका छन्। उनले रास्वपा सस्तो लोप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिकृयावादको सेवा गर्ने पार्टी भएकाे समेत बताएका छन्।

‘प्रतिनिधिसभाको चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पुँजीपति वर्ग चरित्रको पार्टी हो। यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन। संविधानवादको कुरा गरे पनि गणतन्त्र र संघीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन’, उनले भनेका छन्, ‘यो पार्टी प्रतिनिधिसभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो। सस्तो लोप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिकृयावादको सेवा गर्ने गर्दछ। यसले पनि त्यही भूमिका निर्वाह गर्दै छ।’

प्रकाशित मिति: : 2023-02-04 14:06:00

प्रतिकृया दिनुहोस्