सोमबारदेखि रुपन्देहीमा नवयुवा कप फुटबल प्रतियोगिता

रुपन्देहीको ओमसतियामा  सोमबारबाट १०औँ नवयुवा कप फुटबल प्रतियोगिता हुने भएको छ।

नव युवा खेलकुद तथा सांस्कृतिक परिवार ठुठीपिपलको आयोजनामा स्थानीय कर्मडाडा मैदानमा १०औं संस्करणको रुपमा प्रतियोगिता आयोजन गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। 

माघ २३ देखि फागुन ९ गते सम्म हुने प्रतियोगितामा जिल्ला भित्रका ११ र बाहिरका ५ टिम गरी १६ टिमको सहभागिता रहने छ। ओमसतिया गाउँपालिकाको मुख्य प्रायोजन तथा ओमसतिया गाँउपालिका वडा नम्बर  १ को सहप्रायोजनमा हुने प्रतियोगितामा  विजेताले २ लाख रुपैयाँ र उप विजेताले १ लाख रुपैया प्राप्त गर्नेछन्।

त्यसै गरी उत्कृष्ट खेलाडी,  उत्कृष्ट गोल रक्षक र सर्बाधिक गोलकर्तालाई ८–८ हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ सय रुपैयाँले पुरस्कृत गरिने आयोजक संस्था नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारका अध्यक्ष चन्द्र बहादुर गुरुङले जानकारी दिए। 

प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ। 

प्रकाशित मिति: : 2023-02-05 12:51:00

प्रतिकृया दिनुहोस्