पाल्पाको रामपुरमा आयोजना भएको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिबल सङ्घ स्याङ्जाले जितेको छ।
जिल्ला भलिबल सङ्घ नवलपुरलाई सोझो सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको छ। स्याङ्जाले लगातार पहिलो, दोस्रो र तेस्रो सेट २५\२०, २५\१४ र २५\१५ अङ्कसहित जित्न सफल भएको हो। नवलपुर उपविजेता बनेको छ।
लुम्बिनी र गण्डकी प्रदेशका सात जिल्लाको सहभागिता रहेको प्रतियोगितामा आयोजक जिल्ला भलिबल सङ्घ पाल्पाले तृतीय स्थान ओगट्न सफल भएको छ। जिल्ला भलिबल सङ्घ बाग्लुङलाई तीन\एक सेटले पराजित गर्दै पाल्पाले तृतीय उपाधि हात पारेको हो। तेस्रो स्थान छनोट खेलमा जिल्ला भलिबल सङ्घ पाल्पाले पहिलो, दोस्रो र चौथो सेट २५\१७, २५\१८, २५\१६ अङ्कसहित हात पारेको थियो भने तेस्रो सेट २५\२२ अङ्कसहित बाग्लुङले हात पारेको थियो।
प्रतियोगिताको उपाधि विजेताले नगद रु एक लाख ५१ हजार एक सय ११, उपविजेताले रु एक लाख एक हजार एक सय ११ र तृतीय हुनेले रु ५१ हजार एक सय ११ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही रु पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल सङ्घको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य सङ्घको मुख्य प्रायोजकमा प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी स्याङ्जाका सञ्जु विक्रम शाही, वेष्ट ब्लकर नवलपुरका हिमाल सुनारी, वेष्ट स्पाइकर स्याङ्जाका हरि पाण्डे, वेष्ट सेटर स्याङ्जाका सुदीप राना, वेष्ट सर्भर पाल्पाका आशिष श्रेष्ठ र वेष्ट डिफेन्डर स्याङ्जाका राजन दर्लामी हुनुभएको छ।
प्रतियोगिता गत फागुन ३ गतेदेखि रामपुर महोत्सवस्थलमा सुरु गरिएको हो। खेलकुदको विकासका लागि यसअघिको महोत्सवमा पनि अन्तर्राष्ट्रियस्तरको नेपाल र भारतबीच (इन्डो नेपाल) भलिबल खेल आयोजना गरिएको थियो।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले खेलले समाज र ठाउँलाई चिनाउनुका साथै खेलाडीको व्यक्तित्व विकासमा पनि सहयोग गर्ने बताए। रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले उद्योगी तथा व्यवसायीसँगै खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि मेलामा प्रतियोगिता सञ्चालन गरिएको बताएका हुन्।