राष्ट्रपति रनिङ शिल्ड कि माओवादी उत्सव

केही वर्षअघि माडीचौर महोत्सवलाई माओवादी उत्सव भन्दै तत्कालीन रोल्पाका पाँच दलले विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए।

त्यस्तै भएको छ, आइतबार लिबाङमा सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन कार्यक्रम। दलहरुले विज्ञप्ति जारी नगरेपनि सो कार्यक्रम साझा भने बन्न सकेन।

कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री जोखबहादुर महरादेखि विशिष्ट अतिथि प्रदेश सांसदद्वय दिपेन्द्र पुन र मिना बुढा माओवादी नेताहरु नै थिए। यति मात्र हैन, कार्यक्रममा दलिय प्रतिनिधिबाहेक अधिकांश अतिथिमा पनि माओवादी नेताहरुकै बर्चश्व देखिन्थ्यो।

उसो त यस पटक जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न तहका अन्य सांसद्हरुको अभाव भने छैन। वर्षमान पुनपछि प्रतिनिधिसभामा रोल्पाबाट नेकपा एमालेकी नेतृसमेत रहेकी ईश्वरी घर्तीमगर, राष्ट्रियसभामा एमालेकै नेता कुमार दशौंदी, प्रदेशसभामै एमाले नेतृ एमुना रोकाले रोल्पा जिल्लाबाटै प्रतिनिधित्व गर्दै आएका छन्।

यति मात्र हैन, पूर्व सांसद् तथा पूर्व मन्त्रीहरुको पनि रोल्पामा कमि भने छैन। तर जिल्ला खेलकुद विकास समितिले छानीछानी माओवादी नेताहरु मात्र बोलाएपछि रनिङ शिल्ड माओवादी मय बनेको हो।

खेलकुद समितिका अध्यक्ष मोलङ घर्ती माओवादी कोटाबाटै सिफारिस भएपनि अन्य पदाधिकारी र समितिमा काँग्रेसको पनि प्रतिनिधित्व रहेको छ। यद्यपि पार्टी फरक भएपनि ती पदाधिकारी र सदस्यहरु पनि माओवादी धारकै भएकाले यस्तो भएको हुनसक्ने खेलकुद विकास समितिका पूर्व अध्यक्षहरुको बुझाई छ।

प्रकाशित मिति: : 2023-02-27 11:16:00

प्रतिकृया दिनुहोस्