पल शाह रिहा

तस्बिर साैजन्य: हेमराज थापा
तस्बिर साैजन्य: हेमराज थापा

जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल) रिहा भएका छन्।

जबरजस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेपछि फागुन १५ गते आफैँ प्रहरीसमक्ष उपस्थित भएका अभिनेता शाह आज (साेमबार) अदालतको फैसलाबमोजिम रिहा भएका हुन्।

नवलपुर अदालतले बाल यौन दुराचारको मुद्दामा साढे दुई वर्ष कैद र रु १० लाख जरिवानाको फैसला सुनाएकामा उच्च अदालतको आइतबारको फैसलाबमोजिम शाहले सफाइ पाएकाे उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए।

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभिनेता शाहलाई सफाइ दिएको हो। नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिनुभएको थियो। उच्च अदालतको आइतबारको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए।

उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाहलाई कारागारमुक्त गरिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए। रिहा गर्नु अगाडि शाहको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। शाह रिहा हुने खबर पाएलगत्तै कारागार अगाडि बिहानैदेखि शुभेच्छुकको भीड रहेको थियो।

नाबालिक जबर्जस्ती करणीको अभियोगमा कारागारमा थुनामा रहेका अभिनेता शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो। नाबालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध तनहुँ र नवलपुर प्रहरीमा उजुरी परेको थियो। शाहलाई गत वर्ष चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

प्रकाशित मिति: : 2023-02-27 11:43:00

प्रतिकृया दिनुहोस्