डोल्पाको जगदुल्ला गाउँपालिकाले गर्‍यो सबै घरपरिवारको स्वास्थ्य बीमा

डोल्पाको जगदुल्ला गाउँपालिकाले सबै घरपरिवारको स्वास्थ्य बीमा गरेको छ। गाउँपालिकाले एकैपटक पाँच सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको हो।

स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए।

बीमा कार्यक्रममा आवद्ध सबैले यस कार्यक्रममार्फत् विभिन्न सेवा सुविधा पाउने र आवद्धता शुल्कसमेत गाउँपालिकाले नै तिरेको समेत अध्यक्ष रोकायले बताए।

यस कार्यक्रममा सामुदायका सबै घरपरिवार स्वयमं आवद्ध हुने सम्भावना नभएपछि आवद्धता शुल्क पनि पालीकाले नै व्यहोर्ने गरी कार्यक्रममा आवद्ध गराइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले स्वास्थ्य बीमाका लागि रु. १९ लाख २८ हजार ८ सय ५० रुपैयाँ स्वास्थ्य बीमा बोर्डलाई भुक्तानी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए।

गाउँपालिकाका स्वास्थ्य संयोजक छिरिङ्ग बुढाले स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम तय गर्दा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रथामिकतामा राखेर कार्यक्रम बनाउने बताए।

सेवा सुविधा राम्रो पाएमा यस कार्यक्रमलाई स्वयम परिवारले नै निरन्तरता दिने उनको भनाइ छ। सामुदायस्तरमा यस कार्यक्रमको महत्व र धारणाबारे सर्वसाधारणले बुझ्न नसकेकै कारण डोल्पामा बिमितको संख्या नबढेको स्वास्थ्य बीमा बोर्ड डोल्पाका संयोजक राजनकुमार डाँगीले बताए।

स्वास्थ्य बीमा कार्यक्रम धेरै राम्रो कार्यक्रम भएकाले सुरुमा जिल्लाका सम्पूर्ण स्थानीय तहले सर्वसाधारणलाई कार्यक्रममा समावेश गराउनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: : 2023-03-30 09:13:00

प्रतिकृया दिनुहोस्