देउवा र प्रचण्डकाे समानता भनेकै परिवारवाद हाे : नेता रिजाल

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रचण्ड र देउवामा एउटा परिवारवादलाई अक्षरस पालना गर्ने समानता रहेकाे बताएका छन्। 

मिसन ग्रासरुटक अभियानकाे जिम्मेवारी लिएर जुम्ला पुगेका उनले विचार र सिद्धान्तको कुनै मेल नभएका प्रचण्ड र देउवा दुवैमा आफ्नाे परिवार र त्यसकाे चाैघेरा भित्रकालाई संरक्षण गर्ने गज्जबकाे समानता भएकाे बताएका हुन।  

'विपरित नीति र उद्देश्य बोकेका दलहरुको तालमेलबाट सरकार गठन भएकाले जनताको अपेक्षा पुरा हुँदैनन्,' उनले भने, 'दुई महिनाको अवधिमा स्वार्थको लागि राजनीतिक बाटो बदल्ने नेताबाट परिवर्तनको आशा गर्नु बेकार हुन्छ।'

उनले देशमा तीन महिनामा ७ पटक मन्त्रीपरिषद पुर्नगठन हुनु, दुई महिनामा दुई पटक प्रधानमन्त्रीले विश्वासको मत्र लिनु पर्ने अवस्था आउनुमा प्रचण्डकाे नैतिकता देषी भएकाे बताए।

'प्रचण्ड सबैभन्दा बढी अविश्वासिले नेता भएकाे हुनाले दुई महिनामा  दुईपटक विश्वासकाे मत लिनुपर्ने अवस्था आएकाे हाे,' उनले भने, 'याे सबै अवस्थाकाे जिम्मेवार माओवादी हाे। माओवादीका नेताहरुले हातमा क्यालकुलेटर लिएर हिसाब गर्दै सत्ता जाेड घटाउमा लागेका छन्।' 

शुक्रबार नेपाल पत्रकार महासंघकाे हलमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै उनले जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन खोज्नु दिवा सपनाको भएकाे समेत टिप्पणी गरे।

'जनताले सदाका लागि बिदा गरेको राजतन्त्रलाई फेरि फर्काएर ल्याउँछु भन्नु गलत र अतिरञ्जित विचार हुन्,' उनले भने, 'राजतन्त्र फर्काउँछु, सत्तामा ल्याएर आउँछु भन्नु गलत विचार हो। यस्ता विचारलाई विश्वास गर्न आवश्यक छैन। यस्ता अभिव्यक्तिप्रति अहिलेदेखि नै राजनीतिक दलहरूका पार्टीले ध्यान दिन आवश्यक छ।' 

उनले लाखौँ सेना, प्रहरी भएको, परम्परागत शक्ति भएको ज्ञानेन्द्रलाई कसैले बचाउन नसकेकाे अवस्थालाई बिर्सेर अहिले बचाउँछु भन्नु गलत हास्यास्पद भएको बताए। 

उनका अनुसार लोकतन्त्र र गणतन्त्रकाे जगमा टेकेर निर्वाचित भएर संसदमा पुगेका शाहीले राजा फर्काएर ल्याउनु भन्ने अधिकार पनि गणतन्त्रले नै दिएकाे हाे। 

'हिजाे राजाकाे शासनमा गणतन्त्र चाहिन्छ भन्न पाइँदैन थियाे। आज पाइन्छ। आफ्ना अभिव्यक्ति, विचार राख्नु पाउनुपर्छ भनेर लोकतन्त्र र गणतन्त्र ल्याएको हो,' उनले थपे, 'बोल्ने, अभिव्यक्ति राख्नेलाई जंगलमा लिएर गोली हानेर मारिन्थ्यो। अहिले लोकतन्त्रकै कारण सांसद ज्ञानेन्द्र शाहीले यति बोल्न पाउनु भएको छ।'

केन्द्रीय सदस्य रिजाल एक महिनादेखि जुम्लामै रहेर पार्टी सुदृढकरण अभियानमा छन्। पार्टीलाई मजबुद बनाउन यो अभियानको थालनी गरिएको उनले बताए।

प्रकाशित मिति: : 2023-04-01 18:38:00

प्रतिकृया दिनुहोस्