नवलरासीको फोर ब्रदर्श फाइनलमा प्रवेश

बिएल संवाददाता

सुदूरपश्चिम

कैलालीमा जारी ‘गौरीगङ्गा गोल्डकप फुटबल प्रतियोगिता’को आज भएको प्रतिस्पर्धामा नवलपरासीको फोर ब्रदर्श एएफसीले बर्दियाको नवयुग मैत्रीभाव एकता समाज क्लबलाई आज ४–१ गोलले पराजित गरेको छ।

जितसँगै फोर ब्रदर्श प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। गौरीगङ्गाको खेल मैदानमा आजको सेमिफाइनल प्रतिस्पर्धामा नवलपरासीका लागि कप्तान विनोद केवटले व्यक्तिगत दुई र हरि कठायतले एक गोल गरे। खेल सुरु भएको पाँच मिनेटमै हरि कठायतको गोलमार्फत फोर ब्रदर्शले अग्रता लिएको थियो। 

बीसौँ मिनेटमा कप्तान विनोद केवटले एक गोल थप्दा फोर ब्रदर्श २–० को अग्रतामा पुग्यो। पहिलो हाफको २५ औँ मिनेटमा बर्दियाका तर्फबाट फागुराम थारुले एक गोल फर्काए।  खेलको ४० औँ मिनेटमा बर्दियाका सुजन गुरुङले आत्मघाती गोल गर्दा पहिलो हाफको खेल ३–१ को अग्रतामा सकियो। 

दोस्रो हाफको २० औँ मिनेटमा कप्तान विनोद केवटले फोर ब्रदर्शलाई थप एक गोलको योगदान दिँदै सहज जित दिलाए। उनी म्यान अफ दी म्याच घोषित भए। 

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्ट्स क्लबले आयोजनामा यही चैत २१ गते सुरु प्रतियोगिताको चैत ३० गते समापन हुँदैछ। प्रतियोगितामा देशभरका १० टोलीले सहभागिता जनाएका छन्।

बाँकेको रेसिङ्ग क्लबले खेल्न नपाउने

‘गौरीगङ्गा गोल्ड कप फुटबल प्रतियोगिता’मा बाँकेको रेसिङ्ग सहारा क्लबबाट खेलको भावनाविपरीत क्रियाकलाप देखिएको भन्दै आयोजक गौरीगङ्गा–११ स्पोर्ट्स क्लबले भत्र्सना गरेको छ। 

आयोजकले एक विज्ञप्तिमार्फत रेसिङ्ग क्लबमा समावेश तीन जना विदेशी खेलाडीको श्रम स्वीकृति पटक पटक माग्दा पनि दिन नसकेको अवस्थामा उक्त क्लबका अध्यक्ष चक्र क्षेत्रीले सेमिफाइनलको प्रतिस्पर्धा हुनुअघि सोमबार खेलको नियमविपरीत र जबर्जस्ती विदेशी खेलाडीले खेल्न पाउनुपर्ने माग गरी आयोजक क्लबका अध्यक्ष दिनेश कलेलमाथि दुर्व्यवहार गरेको भन्दै क्षेत्रीमाथि कारबाहीको माग गरेको छ। 

घटनापछि क्लबको नियमानुसार रेसिङ्ग क्लबलाई आगामी दिनमा हुने गौरीगङ्गा गोल्ड कप फुटबल प्रतियोगितामा सहभागी नगराउने गरी कारबाही गरिएकोसमेत विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति: : 2023-04-12 05:23:00

प्रतिकृया दिनुहोस्