शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्दा सरोकारवाला खुसी

अघिल्लो शैक्षिकसत्रसम्म हिमाली जिल्लामा फागुन १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेकाे थियाे। वार्षिक परीक्षा सकेर पुस १० गतेदेखि माघ अन्तिमसम्म मिन पचासकाे बिदा लगत्तै विद्यालय भर्ना अभियान र पठनपाठन सुरु हुने हिमाली जिल्लामा भने याे वर्ष वैशाख १ देखि नयाँ शैक्षिक सत्र सुरु भयाे।

फागुनमा शैक्षिक सत्र हुन्जेलसम्म हरेक वर्ष पाठ्यपुस्तक अभाव झेल्नुपरेको याे वर्ष एसईई परीक्षा दिएर बसिरहेका चन्दननाथ-१० का हिरामुनी सार्कीकाे अनुभव छ। 'हामीले सधैंभरि पाठ्यपुस्तक समयमा पाउन सकेनाैं,' उनले भने, 'फागुनमा स्कुल लागेपनि वैशाख, जेठसम्म किताब पाउन सकिँदैन थियाे।'

माघ २९ गते जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदमा 'सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन' भनेर प्रश्न गरेका थिए। उनले फागुन एक गतेदेखि सुरु हुने हिमाली जिल्लाकाे शैक्षिकसत्रलाई लक्षित गरेर संसदमा कुरा उठाएका थिए। तर पछि विभाग र मन्त्रालयले वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु गर्न देशभरका सबै स्थानीय तहलाई परिपत्र गरेकाे थियाे।

सरकारले देशभरका सबै विद्यालयमा वैशाख एक गतेदेखि नै नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेकाे हुँदा पठनपाठन सुरु हुनु अगावै देशभर पाठ्यपुस्तक पुर्याउन सकिएकाे मन्त्रालयका सहसचिव दिपक शर्माले बताए।

उनका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मानव संसाधन विकास केन्द्रले ०७९ माघ ६ गते देशभरका विद्यालयहरुलाई २०८० सालकाे शैक्षिक सत्र वैशाख १ गतेदेखि लागू गर्न निर्देशन दिएकाे थियाे।

साेहीबमोजिम देशभर समयमै पाठ्यपुस्तक पुगेपछि सरकार र सराेकारवाला निकायकाे काम प्रशंसा गर्न याेग्य भएकाे सांसद शाहीले बताए। 'सराेकारवाला निकायले समयमै हिमाली जिल्लामा समेत पाठ्यपुस्तक पुर्याउनु खुसीको कुरा हाे।'

हरेक वर्ष शैक्षिक सत्र सुरु भएको दुई-तीन महिनासम्म पाठ्यपुस्तक नपुग्दा पठनपाठन सधैँ प्रभावित हुने गरेको ठाउँमा समयमै पाठ्यपुस्तक पुग्नु खुसीको कुरा भएकाे शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मम्कर भण्डारीले बताए।

'पाठ्यपुस्तक समयमै आइपुगेको छ। अब सम्बन्धित स्कुलले आफ्ना विद्यार्थीले पाठ्यपुस्तक पाउने संयन्त्र बनाउन जरुरी छ,' उनले भने, 'समयमै पाठ्यपुस्तक पुगेकाे हुनाले समयमै पठनपाठन गर्ने व्यवस्था मिलाउनुपर्छ।'

पुस्तक पसलबाट स्कुलका लागि चाहिने किताब प्याक गरेर जिप रिजर्भ गरेर लिन लागेकाे कनकासुन्दरी -१ स्थित महादेव मावि काभ्राका प्रधानाध्यापक मान बहादुर खत्रीले बताए। 'हामीले आफैँले किताब लिएर जानुकाे विकल्प छैन,' उनले भने, 'अब चाँडै पठनपाठन हुनेछ।'

आफ्नाे हातमा समयमै पाठ्यपुस्तक परेपछि खुसी भएकाे पातारासी गाउँपालिका-७ रिनीस्थित सरस्वती माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा सरिता रोकायाले बताइन्। 'अघिल्लो वर्षसम्म समयमै पुस्तक नपाएर समस्या भोग्नुपरेको थियाे,' उनले भनिन्, 'याे वर्ष समयमै पाठ्यपुस्तक पाउँदा साह्रै खुसी लागेकाे छ।'

जुम्लाका सामुदायिक विद्यालयमा ४० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। जुम्लाको सिंजा भेगमा पाठ्यपुस्तक विक्रेता दीपेन्द्र उपाध्यायका अनुसार याे वर्ष समयमै पुस्तक पुगेकाे छ। उनले भने, 'सबै विद्यालयमा पुस्तक पगाउने तयारी भइरहेकाे छ।'

प्रकाशित मिति: : 2023-04-16 19:53:00

प्रतिकृया दिनुहोस्