जिल्लास्तरीय ब्याडमिन्टनको उपाधि चन्द र विष्टको जोडीलाई

बिएल संवाददाता

महेन्द्रनगर
File Photo
File Photo

कञ्चनपुरको महेन्द्रनगरमा सोमबार सम्पन्न स्व. लक्ष्मणचन्द स्मृति पुरुष डबल्स जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि नरेन्द्र चन्द र वीरेन्द्र विष्टको जोडीले जितेको छ।

अन्तिम खेलमा सुरेन्द्र कार्की र प्रकाश विष्टको जोडीलाई पराजित गर्दै चन्द र विष्टको जोडीले उपाधि हात पारेको हो। प्रतियोगिताका प्राविधिक कमिटी संयोजक दिलबहादुर धामीले प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु २५ हजार, प्रमाणपत्रसहित पुरस्कृत भएको जानकारी दिएका छन्।

त्यसैगरी प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको कार्की र विष्टको जोडी रु १५ हजार नगद, प्रमाणपत्रसहित पुरस्कृत भएको छ। प्रतियोगिता समापन समारोमा सुदूरपश्चिम प्रदेशमा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य प्रकाश रावलले विजेता र उपविजेता खेलाडीलाई पुरस्कृत गरे।

प्रतियोगितामा रामबहादुर पाली बोगटी, रमेश पाण्डेय एवं कृष्ण धामी र विवेक ऐरले तृतीय स्थान हासिल गरेका छन्। तृतीय हुने टिमले रु आठ हजार र प्रमाणपत्रबाट पुरस्कृत भएको प्राविधिक संयोजक धामीले जानकारी दिए। उक्त प्रतियोगितामा जिल्लाभरका कुल ४२ टिमको सहभागिता रहेको थियो। 

त्यसैगरी स्व सरोज थापा स्मृति यु–१५ जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता आशिष खत्री प्रथम र उदय चन्द द्वितीय भएका छन्। फाइनल खेलमा खत्रीले चन्दलाई पराजित गर्दै उपाधि जितेका हुन्। उपाधि विजेता खत्री नगद रु १० हजार र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् भने द्वितीय हुने चन्द रु आठ हजारबाट पुरस्कृत भएका छन्। प्रतियोगितामा अक्षय खत्री र सुलभ चन्दले तृतीय स्थान हासिल गरेका छन्। तृतीय हुनेलाई रु दुई–दुई हजार नगद र प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ।

ब्याडमिन्टनका पूर्व राष्टिय खेलाडी स्व लक्ष्मण चन्दको केही महिनाअघि निधन भएको थियो भने अर्का खेलाडी स्व थापाको कोरोनाका कारण निधन भएको थियो। उहाँहरूको सम्झानामा ब्याडमिन्टन सङ्घले प्रतियोगिता आयोजना गरेको हो।

कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सम्पन्न भएको प्रतियोगिता समापन समारोहमा नेपाल ब्याडमिन्टन सङ्घले खेल सामग्री र ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी दीपक बोहराले प्रोत्साहनस्वरुप जुनियर खेलाडीलाई नगद प्रदान गरेका थिए।

प्रकाशित मिति: : 2023-04-18 09:54:00

प्रतिकृया दिनुहोस्