'बिग' स्कुल बन्दै जुम्लाको रत्नचुडेश्वर मावि

छिनासँघु तरेर थोरै उकालो लागेपछि पुगिन्छ, चन्दननाथ नगरपालिका १० रहेको रत्नचुण्डेश्वर माद्यामिक विद्यालय। शान्त वातावरण रहेको स्कुलमा जिल्लाकै नमुना पुस्तकालय छ।

उत्कृष्ट कम्प्युटर ल्याब र जिल्लाकाे एउटा मात्रै गणित ल्याब भएकाे विद्यालयलाई सरकारले 'बिग' स्कुल अर्थात् ठूला विद्यालयकाे परियाेजनामा परेकाे छ।

जस अन्तर्गत पहिलाे चरणमा विद्यालय भवन बन्ने भएकाे छ। मंगलबार चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले दुई कोठे पक्कि भवनको शिलान्यास गरेका छन्। उनले ५९ लाख ४७ लाख २४ हजार रुपैयाँको लागतमन निर्माण हुन लागेकाे हवाई ढलान सहितको दुई कोठे पक्कि भवनको शिलान्यास गरेका हुन्। 

भवन शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख कठायतले शिक्षा क्षेत्रको सुधारका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताए।

'शिक्षाले मानिसको जीवन शैली परिवर्तन गर्ने भएकाले साुमदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान हुनु पर्छ,' उनले भने, 'गुणस्तरीय शिक्षाका लागि भवनसँगै शिक्षकहरु नियमित कक्षा कोठामा उपस्थित हुनुपर्छ। नगरपालिका भित्रका विद्यालयहरुमा भवनको समस्या भएकाले समाधानका म तयार छु।'

सामाजिक विकास मन्त्रलाय अन्तर्गत सामाजिक विकास कार्यालय जुम्लाको सहजिकरणमा स्थानीय तह र प्रदेशको साझेदारीमा ठुला विद्यालय विकास कार्यक्रमबाट उक्त विद्यालयमा भवन निर्माण हुन लागेकाे रत्नचूडेश्वर माविका प्रधानाध्यापक कृष्ण बहादुर राेकायाले बताए।

'याे क्रमागत याेजना हाे। आज उद्घाटन गरेकाे भवनकाे तीनतलासम्मकाे हुनेछ,' उनले भने, 'बिग स्कुल अन्तर्गतकाे भवन निर्माण लगायत भाैतिक पूर्वाधारकाे लागि २९ करोड ९३ लाख ७५ हजार ७ सय ७८ रुपैयाँको डिपिआर भएकाे छ।'

उनका अनुसार भूकम्प प्रतिरोधि र अत्याधुनिक सुविधायुक्त भवन निर्माणको कार्य थालनि भएको छ। सदरमुकाम भित्र रहेको शान्त र विद्यार्थीको आकर्षणको केन्द्र बनेको विद्यालयलमा पहिलो पटक सुविधायुक्त र भूकम्प प्रतिरोधि भवनको शिलान्यले विद्यालय परिवारलाई खुसी बनाएको छ।

उनले गुणस्तरीय शिक्षा प्रदान गर्न लागि विद्यालयको आन्तरिक स्रोत नहुँदा पनि दिनरात नभनि शिक्षकहरु लागि परेको बताए।

पहिलो चरणमा सुरु भएको भवन निर्माण कार्य पाँच वर्षसम्ममा पूरा हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष देवीप्रसाद न्याैपानेले बताए। 

'विद्यार्थीहरुलाई सुविधा सम्पन्न भवनमा राखेर गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि भवन निर्माणको काम थालनी भएको हाे,' उनले भने, 'असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ भवनको शिलान्यास भएको छ।'

प्रतिस्पर्धाका आधारमा रत्नचुण्डेश्वर मावि बिग विद्यालयमा छनोट भएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईले बताए। 'भवन निर्माणमा सामाजिक विकास कार्यालयले सहजिकरण गर्नेछ,' उनले भने, 'पहिलो चरणमा दुई कोठाको हवाई ढलान मात्रै हुनेछ।' 

बिग विद्यालय प्राप्त गर्ने प्रतिस्पर्धामा सफल हुनुले रत्नचुडेश्वर मावि अब्बल छ भन्ने देखाएकाे चन्दननाथ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा जुम्लाका प्रमुख खडानन्द चौलागाईले बताए। 'विद्यालय परिवारको योगदानले बिग विद्यालय अन्तर्गत भवन पाउनु सकरात्मक पक्ष हाे,' उनले भने। 

विद्यालयका पूर्व प्रधानाध्यापक तथा जुम्लाका पहिलाे मावि प्रथम श्रेणीका अवकास प्राप्त शिक्षक लोकराज चौलागाईले विद्यालयको विगतको अवस्था र वर्तमानलाई तुलना गर्दा आकास जमिनको फरक रहेको बताए।

'विद्यालयमा भौतिक संरचना हुनु पर्छ। त्याे नै सबथोक हाेइन।त्यसैले गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ,' उनले भने, 'विद्यार्थीलाई शिक्षा सँगै नैतिकता पनि सिकाउनु पर्छ। आज नैतिक शिक्षा हराएको छ।' 

उनका अनुसार गुणस्तरीय शिक्षा दिलाउनको लागि सरकारले बजेटकाे मात्रा वृद्धि गर्नुपर्छ। बजारमा रहेका विद्यालयका विद्यार्थी पनि गाउँका स्कुलमा आउने वातावारण बनाउनुपर्छ। 

सामुदायिक विद्यालयले बजारमा बिक्ने जनशक्ति उत्पादनमा जाेड दिनुपर्ने चन्दननाथ नमुना माविका प्रधानाध्यापक टंक बहादुर महतले बताए। 

'जुम्लामा रहेका सामुदायिक विद्यालयले शैक्षिक अभियानको नेतृत्व गर्नुपर्छ,' उनले भने, 'विद्यालयमा भएका भौतिक संरचनालाई प्रयोग गर्दै गुणस्तरीय शिक्षा दिलाउन सक्नु नै शिक्षक अब्बल भएकाे उदाहरण हाे।'

प्रकाशित मिति: : 2023-04-18 21:12:00

प्रतिकृया दिनुहोस्