सुजन र वियङ्कालाई स्वर्ण

File photo
File photo

ललितपुरका सुजन गेडाल र एभीएम टेबलटेनिस क्लबकी वियङ्का राईले दोस्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्।

यु–१९ एकल विधाको छात्रमा सुजन तथा छात्रामा वियङ्काले स्वर्ण जितेका हुन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको छात्रमा ललितपुरका विशाल गोले दोश्रो तथा मोरङका विश्व बानियाँ र स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका गनञ्जय दाहाल तेस्रो भए।

छात्रामा एभीएमकी इभाना थापा तथा मोर्डन कलेजकी दिया देउला र सुनसरीकी अन्जलीकुमारी ठाकुर तेस्रो बने। मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगिताको यु–१५ छात्र एक विधामा सुनसरीका सिद्धार्थ तामाङ पहिलो, बुटवल टेबलटेनिस एकेडेमीका सौरव खड्का दोश्रो तथा एभीएमका एरिश शाक्य र गल्कोपाखा समाज सेवाका आर्यन शाही तेस्रो भए।

सोही स्पर्धाको छात्रातर्फ स्ट्यागकी सुस्मिता खड्काले स्वर्ण, नेपाल प्रहरीकी शुभश्री श्रेष्ठले रजत तथा प्रभातकी करिना सुवाल र सुनसरीकी सुलेखाकुमारी ठाकुरले कांस्य जिते। चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र आठ हजार नगद पुरस्कार हात पारे।

विजेतालाई काठमाडौँ महानगरपालिककी उपमेयर सुनिता डङ्गोल, अखिल नेपाल टेबलटेनिस सङ्घका अध्यक्ष चतुरानन्द राज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य, आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे। आयोजकका अनुसार तीनदिने प्रतियोगितामा १ सय ६० खेलाडी सहभागी थिए।

यसै प्रतियोगिताबाट भारतको अरुणाचल प्रदेशमा हुने दक्षिण एसियाली टेबलटेनिस प्रतियोगिताका लागि १२ खेलाडी छनोट गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति: : 2023-04-21 17:20:00

प्रतिकृया दिनुहोस्