क्रिकेटर केसी र फुटबलर सावित्रा बने सर्वोत्कृष्ट खेलाडी

पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणको वर्षोत्कृष्ट खेलाडीमा पुरुषतर्फ नेपाली राष्ट्रिय क्रिकेटका खेलाडी करण केसी र महिलातर्फ फुटबलकी सावित्रा भण्डारी साम्बा घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बर्सेनि अवार्ड वितरण गर्दै आइरहेको छ। उपाधिसँगै दुवै खेलाडीले टेल्जीको इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन्।

पुरुषतर्फ करणसँगै आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका थिए।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी केसीको जन्म बागलुङमा भएको थियो। राष्ट्रिय टोलीबाट एक दिवसीय क्रिकेटमा बलिङ तथा फिल्डिङमा ४० खेलमा खेलेका छन्। उनले त्यस अवधिमा ३ सय १४ रन बनाएका छन्।

यसैगरी टि–२० मा ४३ खेल खेल्दै २ सय ८९ रन बनाएका छन्। बलिङतर्फ एक दिवसीय क्रिकेट प्रतियोगितामा ४० खेल खेल्दै ६१ विकेट लिएका उनले टि–२० मा ४३ खेल खेल्दै ६० विकेट लिइसकेका छन्।

करणले नेपाललाई आइसिसी विश्वकप लिग–२ मा शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोटमा पु¥याउनुको साथै आगामी चारवर्षसम्मलाई ओडिआई मान्यता जोगाउन महत्वपूर्ण योगदान दिएका थिए।

नेपालका तीव्र गतिका बलर करण केसीले लिग–२ मा सानदार प्रदर्शन गर्नेक्रममा ३० खेलमा २१५.५ ओभरमा १ हजार १ सय ३ रन खर्चेर ५० विकेट लिए। १५ ओभर मेडन राखेका करणले तीन पटक पाँच विकेट लिए। उनले तीन पटक ४ विकेट लिएका थिए।

गत वर्ष ओमानविरुद्ध दुबै खेलमा पाँच–पाँच विकेट लिएका थिए। त्यस्तै २०२० मा ओमान र अमेरिकाविरुद्ध टियु मैदानमा लगातार दुई पटक चार विकेट लिएका थिए। उनी समग्र लिग–२ मै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा छैटौं स्थानमा छन्।

केसी भ्यालेन्टाइन ब्वाईका रुपमा समेत चर्चित छन्। आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी पाँच विकेट लिएका थिए।

करण ओडिआई क्रिकेटमा पाँच विकेट ३ पटक लिने नेपाली पहिलो खेलाडी हुन्। उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेटबाट स्वर्ण पदक जित्न सफल भए।

यसका साथै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्समेन चुनिए। ५ खेलमा ३४ ओभर बलिङ गर्दै १ सय २२ रन खर्चेर १३ विकेट लिएका करणले सेमिफाइनल खेलमा ६ विकेट लिए।

‘यसरी नै खेलाडीलाई सम्मान गरेर फ्युचरमा अझै राम्रो गर्ने मौका दिएकोमा हार्दिक धन्यवाद,’ पुरस्कृत भइसकेपछि खेलाडी केसीले प्रतिक्रिया दिए।

यसअघि यो विधाबाट सितेरियो कराँतेका हेमन गुरुङ, लन टेनिसका कुमार अधिकारी, शारीरिक सुगठनका कमल भण्डारी, प्याराग्लाइडिङका युकेश गुरुङ, कराँतेका नविन रसायली र टेनिसका प्रदीप खड्का पुरस्कृत भइसकेका छन्।

त्यस्तै महिलातर्फ पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको सर्वोत्कृष्ट फुटबलकी सावित्रा भण्डारी घोषित भएकी छन्। तर, उनी हाल खेलको दौरान भारतमा रहेकाले उनको पुरस्कार परिवारका सदस्यले ग्रहण गरेका थिए।

उत्कृष्ट ३ मा सावित्रासँगै आर्चरीकी रोजिना थापामगर, आइटिएफकी सुस्मिता थापामगर परेकी थिइन्।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर २६ वर्षीया सावित्रा भण्डारी ‘साम्बा’ लमजुङमा जन्मिएकी हुन। १२ वर्षको उमेरदेखि खेल्न सुरु गरेकी उनी फुटबलभन्दा अघि एथलेटिक्स र भलिबल खेलाडी हुन्।

उनले ०६९ मा भएको राष्ट्रपति रनिङ अन्र्तगत १०० मिटर दौडमा स्वर्ण जितेकी थिइन्।

२०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन्। सन २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गदै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन्।

त्यसपछि हालसम्म गरी उनले देशको प्रतिनिििधत्व गदै एक दर्जन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेकी छन्।

उनी ०७० सालदेखि विभागीय एपिएफ क्लबसँग आवद्ध छिन्। उनी भारतको क्लवमा समेत आवद्ध रहदै विभिन्न प्रतियोगिताहरुमा सहभागी हुँदै आएकी छिन्।

यसअघि यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा भलिबलकी मञ्जु गुरुङ, सितेरियो कराँतेकी बिमला नेपाली, तेक्वान्दोकी पार्वती गुरुङ, कराँतेकी सुष्मी श्रेष्ठ छन्।

भलिबलकी अरुणा शाहीले २ पटक सर्वोत्कृष्ट महिला खेलाडी बनेकी थिइन्।

सुवास उदीयमान, स्व. निसिमलाई कीतिशेष

पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको वर्षोत्कृष्ट उदीयमान खेलाडी क्रिकेटका सुवास भण्डारी घोषित भएका छन्।

उनीसँगै उत्कृष्ट ३ मा परेका फुटबलका सुमित श्रेष्ठ र भलिबलका रवि केसीलाई पछि पार्दै उनी वर्ष उदीयमान खेलाडी घोषित भएका हुन्।

१९ वर्षीय सुवास भण्डारी नेपाली राष्ट्रिय यु १९ का पहिलो रोजाइका अलराउन्डर हुन् भने गण्डकी प्रदेशका सोही टोलीका टिम कप्तानसमेत हुन्।

नेपाललाई यु १९ विश्वकप छनोटमा पुर्याउन उनको ठूलो योगदान रह्यो। नेपालले क्रीकेटको यु १९ विश्वकप खेल्दैछ।

भण्डारीले यसअघि विश्वकप छनोटका लागि पाँच खेल खेले। पाँच खेलमा उनले कुल ७ विकेट लिए।

चार खेलमा उनले विकेट लिएका हुन्। सिंगापुर विरुद्ध १० ओभरमा २३ रन खर्चेर २ विकेट लिए। हङकङ विरुद्धको खेलमा १० ओभरमा १० रन खर्चेर २ विकेट लिए।

मलेसिया विरुद्धको खेलमा ९ ओभरमा ३० रन खर्चेर १ विकेट लिए। युएई विरुद्ध १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए।

भण्डारी बागलुङमा जन्मिएपनि खेलथलो भने कास्की हो। कास्कीमा नै रहने क्रीकेट सुरु गरिरहेका उनी गण्डकीका मुख्य खेलाडी मध्येकै एक हुन्।

राष्ट्रिय टिममा पर्नुअघि भएको प्रदेशस्तरीय छनोट खेलमा ६ खेल्दा १४ विकेट लिएका थिए। उनले विकेटमात्र होइन ६ खेलमा १२४ रन बनाएका थिए।

प्रदेश छनोट पश्चात उनी सुरुआती २८ मा पर्न सफल भए। उक्त क्याम्पमा ५ खेलमा १५ विकेट लिँदा कुल १ सय २० रनसमेत बनाए। २८ पछि अन्तिम १८ हुँदै अन्तिम १४ मा पर्न सफल भए।

त्यस्तै, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा दुर्घटनामा परी मृत्यु भएका खेलाडी २८ वर्षीय निसिम थापालाई खेलकुद पत्रकार मञ्च, गण्डकीले कीर्तिशेष सम्मान अर्पण गरेको छ।

थापाको प्रतियोगिताकै क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा गत असोज ३० गते थापाको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2023-05-06 19:15:00

प्रतिकृया दिनुहोस्