शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ। सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा जावलाखेलले मनाङसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो।
जावलाखेलका खेलाडी एनकोटो मासोबिकाले खेलको ३४औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिए।
त्यस्तै, खेलको ७६औँ मिनेटमा हिसुब थपलियाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए। जाउलाखेलको २–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन।
खेलको अन्तिम दश मिनेटको अन्तरमा मनाङले दुई गोल गर्यो। खेलको ८०औँ मिनेटमा मनाङका विशन गुरुङले एक गोल फर्काए। खेलको अन्तिम मिनेटमा मनाङका अर्का खेलाडी सुमित श्रेष्ठले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा टुङ्गाए। यस खेलसँगै जावलाखेल ३१ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। मनाङ २२ अङ्कसहित सातौँ स्थानमा छ।