खुला पुरुष भलिबलको उपाधि महासंघलाई

भक्तपुरमा सोमबार सम्पन्न राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासंघ विजयी  बनेको छ।

सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा स्थानीय ॐ सिर्जनशील समाजले गत शनिबारदेखि आयोजना गरेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा महासंघले लिखु गाउँपालिका–८ ओखलढुङ्गालाई ३–१ को सेटमा पराजित गरेको थियो। 

फाइनलको पहिलो खेलमा २५–२१ का अन्तरले लिखुले अग्रता लिए पनि दोस्रो, तेस्रो र चौथो सेटमा भने लिखुविरुद्ध महासंघले २५–२०, २५–१९ र २५–२२ को अन्तरले विजय हासिल गरी नगद पुरस्कार, ट्रफी र मेडल हात पार्दै महासंघ च्याम्पियन बनेको हो।

त्यस्तै न्यूटन एकेडेमीले आयोजक टिम ओम सृजनशील समाजलाई ३–० को अन्तरले पराजित गर्दै तेस्रो स्थान सुनिश्चित गरेपछि आयोजक टिम समाजले सान्तवनामै चित्त बुझाउनुपरेको थियो। 

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य किरण थापाले प्रतियोगितामा प्रथम हुने ने महासंघलाई नगद रु ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र, दोस्रो हुने लिखु–६ ओखलढुङ्गालाई नगद पुरस्कार रु २५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र, तेस्रो हुने न्यूटन एकेडेमीलाई रु १५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र सान्त्वना हुने ओम सृजनशील समाजलाई रु १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरेकाे छ।
 
त्यस्तै प्रतियोगिताको फाइनल खेलमा महासंघका खेलाडी विष्णु बस्नेतले म्यान अफ दि म्याचको उपाधि पाउनुभयो भने बेस्ट स्पाइडरमा महासंघकै समित श्रेष्ठ, बेष्ट ब्लकरमा महासंघकै सन्तोष रानामगर, बेष्ट सेटर महासंघकै मनोज घिमिरे, बेष्ट लिब्रोको उपाधि लिखु–८ का सन्दीप थापा र बेष्ट सर्भर न्यूटन एकेडेमीका धिरजकाजी बस्नेतले उपाधि हात पारेका छन्।  

सो अवसरमा प्रदेशसभा सदस्य थापाले खेलमा दर्शकदीर्घाको आकर्षण र सहभागिता देख्दा यहाँ भलिबल खेलका लागि आवश्यक खेलमैदान निर्माण गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन्। त्यसअवसरमा जिल्ला खेलकुद विकास समिति भक्तपुरका प्रमुख दीपक थापा, सूर्यविनायक–४ का वडाध्यक्ष लछुराम न्यौपाने, कार्यक्रमका सभापति एवं आयोजक समाजका अध्यक्ष अर्जुन केसीलगायतले भलिबल खेलमैदानको आवश्यकतालाई संघ, प्रदेश र स्थानीय सरकारले पूरा गर्न लाग्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशमा गएर भलिबल खेलमा उत्कृष्टता हासिल गर्ने खेलाडी धिरजकाजी बस्नेत र विष्णु बस्नेतलाई प्रदेशसभा सदस्य थापाले सम्मान गरे। आयोजक समितिका संयोजक पेशल आचार्यले प्रतियोगितामा आठ जिल्लाका १० समूहको सहभागिता रहेको जानकारी दिएका छन्। प्रतियोगितालाई विभिन्न सहयोग पुर्याउने दाता एवं सहयोगीलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरिएको थियो।

प्रकाशित मिति: : 2023-06-13 08:32:00

प्रतिकृया दिनुहोस्