साँच्चैकाे नमुना स्कुल, सच्चा हेडमास्टर

BreaknLinks
BreaknLinks

कर्णाली राजमार्गकाे नाग्म गमगडी सडकखण्डअन्तर्गत हिमा गाउँपालिका-३ काेइरेलीदेखि थाेरै उकालाे हिँड्याे भने एउटा सानाे चिटिक्क परेकाे स्कुल भेटिन्छ। जसकाे नाम हाे, हिमा आधारभूत विद्यालय। स्कुलका हेडमास्टर पनि सानै उमेरका छन्। जसकाे नाम रहेकाे छ, महेश रावल। उमेर ३० वर्ष। कलसाैंदाे वर्ण, गाेलाे, हँसिलो अनुहार, औषत उचाई, मधुर बाेली।

चिटिक्क परेकाे स्कुल, ठाँटिएका विद्यार्थी र शान्त वातावरणमा पढाइ हुने जिल्लामा कुनै स्कुल छ भने त्यसकाे नाम हाे, हिमा आधारभूत विद्यालय। जसलाई सिंगाे हिमा गाउँपालिकाले आफ्नाे मान सम्झेकाे छ। बाहिरबाट काेही पाहुनाहरु आए भने पालिकाले घुमाउन लैजाने स्कुल उही। जाे हर कुराले नमुना छ। त्यसैले हिमा आधारभूत विद्यालय साँच्चैकाे नमुना स्कुल हाे। जसलाई सरकारले नमुना भने घाेषणा गरेकाे छैन।

२०७१ सालकाे शिक्षक सेवा आयाेगकाे परीक्षामा सामेल जुम्ला चन्दननाथ नगरपालिका-७ मिचाका महेश रावलकाे प्रावि शिक्षकमा नाम निस्कियाे। उनलाई हिमा आधारभूत विद्यालय काेइरेली पठाइयाे। घरदेखि टाढा भएकाे हुनाले उनलाई त्याे ठाउँ न्यास्राे लाग्थ्याे। उनले त्यहाँ जान आनाकानी गरेका पनि हुन्। तर पनि पठाइयो, त्यहीँ। विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले हाजिर नगराइदिए बेस हुन्थ्यो जस्ताे लाग्थ्यो।

स्कुलकाे नाममा दुई काेठा र दुई जना निजी स्राेतका शिक्षक मात्रै भएकाे ठाउँमा जिल्ला शिक्षा कार्यालयले स्थायी मास्टर पठाएपछि हाजिर नगराउने कुरै भएन। उनलाई हाजिर गराइयाे। अभिभावक खुसी थिए। विद्यार्थी नयाँ शिक्षक पाउँदा मख्ख थिए। तर महेश भने दुखी थिए। उनले साेचेकाे विद्यालय बनिबनाउन हुनुपर्ने थियाे। राम्रा कक्षाकाेठ, अनुशासित विद्यार्थी र शिक्षाप्रेमी अभिभावक हुनुपर्ने थियाे। तर काेइरेलीमा साेचेजस्ताे थिएन।

'साेचेजस्ताे हुन्न जीवन, सम्झेजस्ताे हुन्न जीवन' भनेर तारादेवीले गएकाे गित महेशकाे प्रारम्भिक जागिरे जीवनसँग मिल्याे। उनले पढाउन सुरु गरे। पढाउन सुरु गरेकाे तीन महिनामै विद्यालयकाे जिम्मेवारी सम्हाल्नुपर्ने स्थिति आइलाग्याे। दुईजना अस्थायीले चलाएकाे स्कुलमा स्थायीकाे जिम्मेवारी उसै पनि बढ्ने नै भयाे।

मनमा केही गर्ने हुटहुटी पालेर स्थायी नियुक्ति बाेकी हिँडेका उनलाई स्कुलकाे हरिबिजाेगले पहिलाे गासमै ढुङ्गा लगाइदियाे। प्रधानाध्यापक भएपछि गासमा लाग्न सक्ने ढुंगा केलाउनुकाे विकल्प थिएन। उनले मनमा उम्रिएर दुई पात भएकाे निराशाकाे बिरुवामा मलजल हुन दिएनन्। त्याे त्यसै मरेर गयाे। त्यसपछि मनमा आशाको बीउ राेपियाे। त्यसमा उनले सकेकाे मलजल गरे। त्याे हुर्किंदै गयाे।

हेडमास्टर भएपछि उनी जुम्ला शिक्षा कार्यालय आए। आफ्नाे स्कुलकाे अवस्था अवगत गराए। शिक्षा कार्यालयबाट एउटा शाैचालय बनाउने बजेट छुट्याइयाे। निजी स्राेतका दुईजना शिक्षकसहित तीन जना, विद्यार्थी १५/१६ जना। परिचर एक जना थिए। पढाइ हुने तीन कक्षासम्म, कक्षाकाेठा जम्मा दुई वटा। शिक्षा कार्यालयले भवनका निम्ति केही गराैंला भनेकै थियो, देशमा नयाँ संविधान निर्माण भयाे। संवैधानिक प्रावधानअनुसार शिक्षा कार्यालयकाे काम कर्तव्य र अधिकार खुम्चियाे। स्कुलले नयाँ भवन पाउने भएन। स्थानीय तहहरु पावरफूल भएर आए। तलब भत्ता, खाजाकाे रकम विद्यालय स्थानीय तहबाटै आउने भयाे।

२०७४ मा स्थानीय तहकाे निर्वाचन भयाे। गाउँपालिकाकाे नेतृत्व माओवादीले गर्‍यो। हिमा आधारभूत विद्यालयका निम्ति विद्यालय भवन बनाउन बजेट छुट्याइयाे। गाउँपालिकाले अनुदान दिएर नयाँ शिक्षक भर्ना गर्न भन्याे। महेशले स्कुल राम्राे गर्दै गएका थिए। त्यही बीचमा उनले स्कुलका धेरैजसाे काममा सहयोग गरिरहेका शिक्षकलाई गाउँपालिकाकाे अनुदानमा भर्ना गर्ने खाेजे। अनुदान दिने पालिकाले आफ्नाे पार्टीको मात्रै नभई आफ्नाे निकटकाे राख्न भनेर निर्देशन दियाे, उनले मानेनन्। महेशले जाे राख्दा स्कुल राम्राे बन्छ भनेका थिए, उनी पनि आस्थाले माओवादीनिकट नै थिए। गाउँपालिकाले नमान्दा केही समय अलमल भयाे।

उनले विद्यार्थीकाे मनाेभावना बुझेर, अभिभावकसँग सरसल्लाह गरी स्कुललाई लयमा फर्काउने काेसिस गरिरहेका थिए। तीन कक्षासम्म मात्रै पढाइ हुने स्कुलले पाँच कक्षासम्म चलाउने अनुमति पाएकाे थियाे। विद्यार्थी संख्या बढिरहेको थियाे। उनले स्थानीय स्राेत, साधन, श्रम र सीपकाे प्रयाेग गरेर विद्यार्थीलाई बुझ्ने गरी पढाउने काेसिस गरिरहेका थिए। विद्यार्थी र अभिभावक खुसी हुँदै थिए। स्कुलमा पठनपाठनकाे राम्रो वातावरण सृजना हुँदै थियाे।

नेकपा र काँग्रेसकाे विवाद हुँदा बाँजागाडकाे रुपाकाेट आधारभूत विद्यालय फुटाएर दुई बनाइयाे। त्याे आधारभूत विद्यालयकाे निम्ति अवसर बनेर आयाे। नेकपा र काँग्रेसकाे राजनीतिकाे चपेटामा पर्न नचाहनेले हिमा आधारभूत विद्यालयमा आफ्ना विद्यार्थीकाे भविष्य खाेजे। विद्यालयकाे नाम टाढासम्म फैलिँदै थियाे। त्यसले महेशलाई झनझन् उत्साहित बनाउँदै लगेकाे थियाे। 'अब केही गर्न सकिन्छ भन्ने लाग्न थाल्याे,' हँसिलो मुहारमा महेशले भने, 'विस्तारै अभिभावक र गाउँलेकाे साथ पाउन थाल्याैं।'

रुपाकाेटकाे अवस्था सुध्रिएसँगै अभिभावकहरु बाटाेदाेबाटाेमा लागेर विद्यार्थी फर्काउन लागे। तथापि महेशकाे स्कुलमा विद्यार्थी घटेनन्। पाँचसम्म पढाइ हुने स्कुलमा ९२ जना विद्यार्थी छन्। एक जना गाउँपालिकाकाे अनुदानवाला, एकजना बालविकासकी शिक्षिका र उनीसहित तीन जना शिक्षक छन्। काेइरेलीमा पढेलेखेका अभिभावक छैनन्। बल्लतल्ल उनले पढाएका एकजना विद्यार्थीले एसईई पास गरेपछि स्कुलमै माष्टर बनेका छन्। 'बालविकासकी शिक्षिका काेइरेलीकै बनाउन सकियोस् भन्ने चाहना थियाे,' उनले भने, 'गाउँमा पढेलेखेका महिला नै भएनन्। अर्काे गाउँबाट ल्याउनुपर्‍यो।'

विविध घटनाले काेइरेलीमा शिक्षाकाे महत्व झल्किँदैछ। अभिभावकहरुमा आफ्ना छाेराछारी पढाउनुपर्ने चेतनाकाे विकास हुँदैछ। याे वातावरण निर्माणका निम्ति महेशले हरेक दिन पसिना बगाइरहेका छन्।

'दुईवटा कक्षाका विद्यार्थी सँगै राखेर पढाउने गरेका छाैं। पढाउँदा सकेसम्म चित्र देखाउने गरेका छाैं,' उनले भने, 'फूल, वनस्पतिका बाेट नै राखेर पढाउने गरेका छाैं। कतिपय चित्र विद्यार्थी आफैँले बनाएका छन्।'

पढाउने कामका साथै उनी खाजासमेत आफैँ बनाउँछन्। कहिलेकाहीँ विद्यार्थी, परिचरले समेत सहयोग गर्छन्। हिमा आधारभूत विद्यालयका साना नानीबाबुहरुले ज्ञान, सीपका साथै आचरण पनि सिकेका छन्।

हरेक दिन लाइनमा विद्यालयकाे अवस्था अवगत गराइन्छ। विद्यालयकाे प्राङ्गणमा लगाइएका फूलहरु उखेल्नु हुँदैन भनेर सिकाइन्छ। सिकाएअनुसार विद्यार्थीकाे व्यवहार देखेर महेशलाई औधि खुसी लाग्छ। उनी अचम्म मान्छन्।

'हाफ टाइममा विद्यार्थीहरु स्कुलकाे चाैरमा फुटबल खेल्छन्। तर उनीहरुले एउटा पनि फूल भाँच्ने वा उखेल्ने गरेका हुँदैनन्,' उनले भने, 'यस्ताे देख्दा विद्यार्थीहरुकाे साह्रै माया लाग्छ। उनीहरुलाई छाेडेर कतै नजाउँ जस्ताे हुन्छ।'

उनी प्राय स्कुलमै भेटिन्छन्। बिहान सबेरै र चार बजे छुट्टी हुँदा पनि उनी अन्त नगइ स्कुलमै हुन्छन्। जाँड, रक्सी, जुवा तासकाे लत छैन। त्यसैले दिनभर बिग्रे भत्केको बनाउन लाग्छन्। उनी स्कुलमै भएकाे देखेपछि विद्यार्थी पनि घर जान मन गर्दैनन्। केही न केही गरेर बस्छन्। केही काम परेकाे छ भने शनिबार पनि विद्यार्थी स्कुल आउँछन्।

पाँच कक्षासम्मका विद्यार्थीले खाना बनाउन सिकेका छन्। उनीहरुलाई खानाका विभिन्न परिकारहरु बनाउन आउँछ। अघिल्लो वर्ष त्यहाँका विद्यार्थीले खाना मेला समेत आयाेजना गरेका थिए। बेलाबेला उनीहरु अग्ला लेकमा वनभाेज पनि जान्छन्। वनभाेज जाँदा फूल फुल्ने विरुवा र नफुल्ने बिरुवा उखेलेर प्लास्टिक लेमिनेस गरेर कक्षा काेठामा ल्याएर राखेका छन्। जसले सिकाइलाई प्रभावकारी बनाइरहेकाे छ।

हरेक कक्षाकाेठामा वनस्पति, चित्र र विभिन्न बाल कथालगायत ज्ञानका किताब राखिएको छ। विद्यार्थीहरु हेरर चिन्छन्। पढ्छन्। जस्ताको तस्तै राख्छन्। विद्यालय नै सामूहिक घरजस्ताे छ। विद्यार्थी सबै एकै घरका सदस्य जस्ता छन्।

विद्यालय, अभिभावक, शिक्षक, विद्यार्थी सबैकाे सहकार्य देखेर हिमा आधारभूत विद्यालयकाे स्तरउन्नतिका निम्ति विभिन्न एनजीओहरु पनि लागेका छन्। उनीहरुले गर्ने सानाे सहयोगले रंगरोगन गरी कक्षाकाेठालाई आकर्षक बनाइएकाे छ।

यस्ताे वातावरणमा पढेका विद्यार्थीहरु पाँच कक्षापछि थप अध्ययनका निम्ति बाहिरका स्कुलमा जाँदा खासै रुचि मानेर पढ्दैनन्। कतिपय त फेरि स्कुलमै फर्किन पनि खाेज्छन्।

गाउँले जाे मर्दा पनि बिदा हुने हुँदा पढ्ने वातावरण बन्दैन। महेशलाई साह्रै दु:ख लाग्छ। उनी भावुक हुँदै भन्छन्, 'सानाे सानाे निहुँमा पढाइ बन्द हुने स्कुलहरु छन्। हामी कहिले पनि स्कुल बन्द गर्दैनौं। शान्त वातावरणमा पढेका विद्यार्थीलाई बीच बाटाेमा कतिले कुट्ने-पिट्ने गरेकाे पनि सुनिन्छ। यसले विद्यार्थीलाई जबर्जस्ती पढाइ छाेड्न बाध्य पारिरहेकाे छ।'

उनी लामाे समय एकै ठाउँमा नबस्ने मनस्थितिमा छन्। याे कुरा बेलाबेला राख्छन् पनि। तर अभिभावक मान्दैनन्। बरु निमावि, मावि तहमा नाम निकालेर जाने भए जाउला भन्छन्। उनकाे धाेकाे भनकाे आफैँले पढाएकाे विद्यार्थीले नाम निकालेर आयाे भने विद्यालय उसलाई हस्तान्तरण गरेर निस्किने रहेकाे छ। बल्ल उनले पढाएका विद्यार्थीले १२ कक्षाकाे परीक्षा दिएका छन्। विस्तारै उनकाे धाेकाे पनि पूरा हुनेछ।

सबैकाे प्याराे बनेका महेश र अध्ययनकाे उत्कृष्ट वातावरण तयार पारिरहेकाे हिमा आधारभूत विद्यालयलाई सरकारले पुग्दाे मात्रामा लगानी गर्न सकेकाे छैन। जसका कारण पर्याप्त मात्रामा शैक्षिक सामग्रीहरु तयार पार्न सकिँदैन। भइरहेको सामग्री विस्तारै कमजोर हुँदै जान्छ।

'स्कुल याेभन्दा माथि जाँदैन। पर्याप्त लगानी विना केही पनि सम्भव छैन। रङराेगन पुरानाे हुँदै जान्छ। त्यसैले सरकारले शिक्षककाे तलव, भत्ता, विद्यार्थीकाे खाजा, पाठ्यपुस्तक र छात्रवृत्तिकाे अलवा अतिरिक्त रकम पनि दिन आवश्यक छ,' उनले भने।

प्रकाशित मिति: : 2023-06-17 19:50:00

प्रतिकृया दिनुहोस्