मलेसियालाई हराउँदै नेपालले जित्याे एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

नेपालले एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको च्याम्पियन बनेको छ। नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले उपाधि जितेको हो।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनायो। दुई सय ५३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा मलेसियाको पारी १४ दशमलव पाँच ओभरमा ३१ रनमै समेटियो। मलेसियाका लागि मोहम्मद अक्रमले १० रनाए। अन्य खेलाडीले दोहरो अङ्कको रन बटुल्न सकेनन्।

बलिङतर्फ नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा एक मेडन राख्दै सात रन दिएर पाँच विकेट लिए। यस्तै सन्तोष यादवले तीन तथा सागर गैरेले एक विकेट लिए।

यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि नरेन भट्टले शतकीय पारी खेले। उनले ८९ बल खेल्दै  दुई छक्का र १० चौकाको मद्दतमा अविजित एक सय १२ रन बनाए। यस्तै नीरज यादवले ४७, सुर्यांशु कोइरालाले  १८, सन्तोष यादवले २६ र अशोक धामीले ११ रन बनाए।

बलिङतर्फ मलेसियाका मुहम्मद अक्रमले तीन तथा आरिन एक्विल र मुहम्मद फदुल मुइनले एक÷एक विकेट लिए। सोमबार नेपालले सिङ्गापुरलाई तथा मलेसिया हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए। 

प्रकाशित मिति: : 2023-07-04 11:50:00

प्रतिकृया दिनुहोस्