डोल्पाको त्रिपुरासुन्दरी साक्षार नगरपालिका घोषणा

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका साक्षार नगरपालिका घोषणा भएको छ। शुक्रबार भव्य कार्यक्रमका बीच साक्षार नगरपालिका घोषणा गरिएको हो।

नगर क्षेत्रभित्रका १५ देखि ५९ वर्ष उमेर समुहका ९५.१३ प्रतिशत जनसङ्ख्या साक्षार भएसँगै नगरपालिकालाई साक्षार घोषणा गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भिम बहादुर थापाले जानकारी दिए।

साक्षार नगरपालिका घोषणा कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकीय अधिकृत जगदिशचन्द्र नेपालीले शिक्षा जीवनको नभइ नहुने आधार र भविश्य निर्माणको अस्त्र भएकाले शिक्षाको अवसर कसैले पनि गुमाउन नहुने बताए। नगरपालिमा शैक्षिक सुधारका लागि सबकौ सरसहयोग आवश्यक रहेको समेत उनले बताए।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायले विद्यालयमा पढाउनु मात्र शिक्षा नभइ शिक्षकले व्यवहारिक ज्ञान पनि दिनुपर्ने बताए।

कार्यक्रममा नगरपालिकाका सम्पुर्ण सिकाइ केन्द्रका अध्यक्ष तथा कर्मचारीलाई प्रमाणपत्र खादा सहित सम्मान समेत गरिएको थियो। कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभाध्यक्ष तथा नगरप्रमुख जनचन्द्र रोकायले नगरपालिकाले नगर क्षेत्रका बेसहारा बालबालिकालाई शिक्षा पाउने ग्यारेन्टी गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

त्यसकालागि नगरपालिकाले बजेट समेत विनियोजन गरेको नगरप्रमुख रोकायले बताए। अब चाँडै जिल्ला घोषणकालागि अन्य स्थानीय तहहरु पनि पालिका घोषणातिर लाग्नुपर्ने उनको भनाई छ।

कार्यक्रममा नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, शिक्षक, राजनितिक दलका नेतृत्व, नागरिक समाज, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो।

त्रिपुरा माध्यामिक विद्यालय काटियाचौर, त्रिपुराकोट माध्यामिक विद्यालय मद्धुलगायतका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नृत्य, कविता, गीतलगायतका कला प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: : 2023-07-07 19:38:00

प्रतिकृया दिनुहोस्