नेपालमा लगानीको वातावरण अझै बनेन: कुल आचार्य

File Photo
File Photo

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले नेपालमा अझै लगानीको वातावरण बनिनसकेको बताएका छन्। उनले विदेशमा रहेका नेपालीले लगानी गर्ने वातावरण बनाउनका लागि सरकारसँग अपिल पनि गरे।

अघिल्ला ६ महिना एनआरएनएको कार्यकारी अध्यक्ष भएका उनले विगतको तुलनामा सरकारले लगानीका लागि धेरै बाटो खोलेपनि प्रक्रियागत झन्झटका कारण लगानीमैत्री वातावरण बन्न नसकिरहेको जिकीर गरे।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लगानीकर्तासँग गरेको एउटा अन्तर्क्रियामा बोल्दै उनले भने, ‘सरकारले हाम्रो माग सम्बोधन गरेको छ, तर प्रक्रियागत झन्झट छन्। उदाहरणका लागि सरकारले डलर खाताको व्यवस्था मिलाएको छ तर विदेशबाट पैसा पठाउन खोज्दा नेपाल भन्ने देशै देखाउँदैन। यस्तो अवस्थामा हामीले के गर्न सक्छौँ? त्यस्ता कठिनाइलाई समाधान गर्नु जरुरी छ। हामी यही चाहन्छौँ कि स्वर्ग जस्तो देशमा हामीलाई लगानी गर्ने वातावरण बनाइदिनुस्।’

अध्यक्ष आचार्यले लामो समयदेखिको गैरआवासीय नेपाली नागरिकताको माग सम्बोधनको लागि नेपाल सरकार र उक्त उपलब्धि हासिल गर्नका लागि भूमिका निर्वाह गरेको उद्योग मन्त्रालय तथा अन्य सरोकारवाला मन्त्रालयप्रति संघको तर्फबाट आभार व्यक्त गरे।

‘यस उपलब्धिलाई हामीले नेपालमा लगानीका लागि बलियो र प्रमुख आधार मानेका छौँ,’ उनले भने, ‘जसले संविधानले परिकल्पना गरेका गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकालदेखि नै समृद्ध मुलुक निर्माणका लागि लगानी प्रवर्द्धन, पुँजी ज्ञान, प्रविधि र सीप भित्र्याउने लक्ष्य राखेको छ।’

विदेशमा रहेका नेपालीहरुले विभिन्न व्यापार, व्यवसाय, होटेल, शिक्षा, स्वास्थ्य, हाइड्रो, बैंक तथा वित्तिय लगायतका क्षेत्रमा लगानी गरिरहेको स्मरण गराउँदै उहाँले आगामी दिनमा पनि नेपालको विकास पूर्वाधारको निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

गैरआवासीय नेपाली संघ र सरकारी संयुक्त लगानीमा सुरु गरिएको एनआरएनए डेभेलप्मेन्ट फण्डका लागि थप सहजीकरण गरिदिन आग्रह गर्दै अध्यक्ष आचार्यले लगानीका लागि विद्यमान कानूनी कठिनाइ हटाउन जरुरी रहेको उल्लेख गरे।

‘लगानी भित्र्याउन, प्रवर्द्धन गर्न सरकारले ढोका खोलिसकेको छ, कति खोल्ने क्रममा छ। हाम्रा केही सुझावहरु पनि सम्बोधन भएका छन्। र, अझै केही सम्बोधन गर्न बाँकी छन्। ती विषयहरु पनि समयानुसार सम्बोधन हुने विश्वास लिएको छ,’ उनले भने’ कार्यक्रममा उपस्थित उद्योग  वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनीले तल्लो तहमा रहेर भुइँमान्छेको जनजीवन उकासिने गरी गैरआवासीय नेपालीहरुले लगानी ल्याउन सक्नुपर्नेमा जोड दिए।

‘एनआरएनहरुले भुइँमान्छेका लागि लगानी ल्याउन सक्नुपर्छ, ठूला ठूला योजना ल्याएर ठूलै लगानी गर्छु भन्दा अहिले सानैबाट अघि बढ्न सके त्यसले तात्विक अर्थ राख्छ, सानो कुराले ठूलो परिवर्तन ल्याउन सक्छ,’ उनले भने।

प्रकाशित मिति: : 2023-07-09 18:16:00

प्रतिकृया दिनुहोस्