बाँकेको नेपालगञ्जमा रहेको भरी अस्पतालको विकास समितिको अध्यक्षमा विरेन्द्र बहादुर शाह नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शाहलाई अध्यक्षमा नियुक्त गरेको हो।
नेपालगञ्ज– १३ निवासी शाह वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनबाट नेपालगञ्ज– १३ को वडा अध्यक्ष निर्वाचित भएका थिए। २०२६ साल चैत्र २५ गते जन्मिएका शाहले २०४२ सालमा मंगल प्रसाद माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका छन्।
सन् १९८८ मा भारतको लखनउस्थित जयनारायण इण्टर कलेजबाट प्रमाणपत्र उत्तीर्ण गरेका शाह लामो समयदेखि नेपाली कांग्रेसको भातृ संगठन तरुण दल बाँकेको अध्यक्ष छन्।
यसअघि नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य रही सकेका शाहले त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट वि.सं. २०५० सालमा बि.ए.सम्मको अध्ययन पुरा गरे। शाह एमएमा अध्ययनरत छन्।
कांग्रेस बाँकेमा लोकप्रिय रहेका शाहलाई स्वास्थ्यमन्त्री मोहन बस्नेतले विकास समिति अध्यक्ष चयन गरेका हुन्। अध्यक्ष नियुक्त भएसँगै संक्षिप्त प्रतिक्रिया दिंदै शाहले प्रचलतित ऐन कानुन र विधि प्रक्रिया अनुसार काम गर्ने बताए।