संसद् बैठक अवरुद्ध गर्ने क्रममा नयाँ–नयाँ रेकर्ड कायम गर्दैआएकाे नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर थप उग्र बनिरहेकाे छ।
हप्ता दिनअघि प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन एकजना भारतीय व्यवसायी नेपाल र भारतका विभिन्न नेताहरूलाई भेट्दै हिँडिकाे अभिव्यक्ति दिएपछि एमालेले पूर्णरुपमा संसद्काे ढाेका बन्द गरिदिएकाे छ।
प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ। तर सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्ड 'अवरुद्ध संसद् खुलाउन' लागिपरेका छन्।
तीन दलका शीर्ष नेताबीच यी–यस्तै विषयमा छलफल भएपनि एमाले र प्रधानमन्त्री प्रचण्डबीचको व्यक्तिगत तवरमै फैलिएकाे विवादको जरो भेटिन मुस्किलै छ।
नेताहरूबीचकाे विवादको जरो नभेटिँदा आइतबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र सत्तारुद्ध दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएपनि संसद् चलाउने सन्दर्भमा कुनै ठाेस सहमति भएन। शीर्ष नेताहरूको कानेखुशीलगतै बैठक चलाउन सहमति भएकाे समाचार बाहिरिएपनि ३० मिनेटमै सहमति भंग भयाे।
सोमबार (आज) पनि दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा १ बजे यिनै तीन दलका शिर्ष नेतहरूबीच छलफल भइरहेकाे छ। छलफलमा संसदभित्रको अवरोध खुलाउने विषय सतहमा देखिएपनि पर्दापछाडि अनेकन बार्गेनिङका विषयहरू हुनसक्ने अनुमानहरू चलिरहेकै छन्।
मुलत: हाइप्रोफाइल व्यक्तिहरूसमेत मुछिएका अनेकाैँ काण्डका फाइलहरू धमाधम खुल्दै गएपछि नेताहरू अत्तालिएकै छन्। जसमा काँग्रेस, एमाले र माओवादीकै माथिल्लाे तहका नेताहरूकाे नामसमेत मुछिएकाे छ।
संसद् बैठक अवरुद्धका विषयमा तीन दलका शीर्ष नेताहरूले गरिरहेकाे कानेखुशी अन्तत: बार्गेनिङतर्फ आशंका व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले असन्तुष्टि जनाएका छन्।